Madhes Khabar
स्थानिय

पर्सा जिल्लाका कुनैपनि सुकुम्बासी बस्तीमा डोजर नचलाउन श्रम संस्कृति पार्टीको माग

वीरगन्ज, २४ वैशाख : हर्क साम्पांग नेतृत्वको श्रम संस्कृति पार्टीले पर्सा जिल्लाका सुकुम्बासी बस्तीहरुमा डोजर नचलाउन माग गरेको छ । श्रम संस्कृति पार्टी पर्साले बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै पर्सामा पनि सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी भइरहेकाले त्यसो नगर्न माग गरेको हो ।

साथै उसले अन्य जिल्लाका सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने तथा बल प्रयोग गर्ने कार्य पनि तत्काल रोक्न सरकारसंग माग गरेको छ ।

पर्सा जिल्लाका विभिन्न सुकुम्बासी बस्तीहरू हटाउने तयारीप्रति विरोध जनाउँदै श्रम संस्कृति पार्टी पर्साले वैकल्पिक पुनःस्थापनाको व्यवस्था नगरी कुनै पनि बस्तीमा डोजर चलाउन नहुने माग गरेको जिल्ला उपाध्यक्ष वासिम शेखले जानकारी दिए । पार्टीले बुझाएको ज्ञापनपत्रमा पर्सा जिल्लाका ऐलानी, पर्ती तथा सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी नागरिकलाई बल प्रयोग गरेर हटाउने तयारी भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै पार्टीले संविधानको धारा ३७ अनुसार कानुनबमोजिम बाहेक कसैलाई पनि निजको आवासबाट हटाउन नमिल्ने व्यवस्था पनि सरकारलाई ज्ञापनपत्रमार्फत स्मरण गराएको छ। साथै संविधानको धारा ५१ अनुसार भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पहिचान गरी उनीहरूको पुनःस्थापनाको दायित्व राज्यको भएको पनि उल्लेख गरिएको छ।

श्रम संस्कृति पार्टी पर्साले नागरिकको जीवन र सम्पत्तिको संरक्षण गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूको रहेको जनाउँदै विकल्पबिना नागरिकलाई बल प्रयोग गरी विस्थापित गर्नु कानुनी तथा मानवीय दृष्टिले अस्वीकार्य हुने चेतावनीसमेत दिएको छ।

ज्ञापनपत्रमार्फत श्रम संस्कृति पार्टीले पर्सा जिल्लाभित्र रहेका सम्पूर्ण सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने तथा बल प्रयोग गर्ने कार्य तत्काल रोक्न, यथार्थ लगत संकलन तथा वर्गीकरण गर्न, सम्मानजनक र दिगो पुनःस्थापनाको स्पष्ट योजना लागू गर्न तथा कुनै पनि विस्थापनअघि वैकल्पिक आवासको सुनिश्चितता गर्न माग गरेको छ।

Related posts

वीरगन्ज ३० मा सन्चालित सिलाई कटाई सम्बन्धि ३ महिने तालिम सम्पन्न

MadhesKhabar

वीरगन्जकाे मिलनचाेकबाट घरेलु मदिरा बरामद

MadhesKhabar

वीरगन्जको टुटेफुटेको मेनरोड मर्मत नहुने

MadhesKhabar

Leave a Comment