Madhes Khabar
स्थानिय

जीतपुरसिमरामा जथाभावी फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना गर्ने उपमहानगरकाे चेतावनी

सिमरा,२४वैशाख:बाराकाे जितपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय स्वच्छता कायम गर्न र बढ्दो प्रदूषण नियन्त्रण गर्न जथाभावी फोहोर फाल्नेहरूविरुद्ध कडा कानुनी कारबाहीको अभियान सुरु गरेको छ ।

उपमहानगरले बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुन उल्लंघन गरी जथाभावी फोहोर विसर्जन गर्ने व्यक्ति तथा संस्थालाई कसुरको प्रकृति हेरी ५० हजार रुपैयाँसम्म जरिवाना गरिने स्पष्ट पारेको छ ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ र उपमहानगरको आफ्नै फोहोरमैला व्यवस्थापन कार्यविधि २०७९ लाई आधार मानी सडक, नाला, चोक, फुटपाथ तथा नदी–नालामा फोहोर फाल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हो ।

सूचनाअनुसार जरिवानाको दायरालाई विभिन्न वर्गमा विभाजन गरिएको छ । सामान्य फोहोर जथाभावी फाल्ने व्यक्तिलाई पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गरिनेछ भने सोही व्यक्तिले पुनः गल्ती दोहोर्‍याएमा प्रत्येक पटक जरिवाना रकम दोब्बर हुँदै जाने प्रावधान राखिएको छ ।

चुरोटका ठुटा र गुट्खाका खोल जस्ता साना फोहोर फाल्नेलाई पनि एक सय रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै, सार्वजनिक स्थलमा जनस्वास्थ्यमा गम्भीर असर पार्ने खालका फोहोर फालेमा न्यूनतम पाँच हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना असुल गरिने उपमहानगरले जनाएको छ ।

औद्योगिक र स्वास्थ्यजन्य फोहोरको सवालमा उपमहानगर अझ बढी कठोर देखिएको छ । उद्योग तथा स्वास्थ्य संस्थाहरूले हानिकारक फोहोर गलत तरिकाले व्यवस्थापन गरेको पाइएमा २५ हजार रुपैयाँसम्म जरिवाना गर्नुका साथै सम्बन्धित निकायमा अनुमति रद्दको सिफारिस समेत गरिनेछ ।

यसका साथै अनुमति बिना सडकमा निर्माण सामग्री राख्ने वा सरसफाइ कार्यमा अवरोध पुर्‍याउनेहरूलाई पनि कारबाहीको दायरामा ल्याइनेछ ।

`सफा नगर, स्वस्थ नागरिक’ भन्ने नारालाई सार्थक बनाउन नगर प्रहरी, अनुगमन टोली र सबै वडा कार्यालयहरूलाई सक्रिय रूपमा परिचालन गरिएको छ । उपमहानगरपालिकाले सम्पूर्ण नगरवासीलाई फोहोर तोकिएको स्थान र समयमा मात्र विसर्जन गरी स्वच्छ र सभ्य सहर निर्माणमा सहयोग गर्न अपिल गरेको छ ।साभार:इशीलालेख डटकम

Related posts

बाराको विश्रामपुर गाँउपालिकामा आज सार्वजनिक विदा

MadhesKhabar

वीरगन्जको विधुत प्राधिकरणमा कर्मचारीहरुबिच कुटाकुट

MadhesKhabar

पोखरियाको मालपोत कार्यालयमा मेयर चौहानले गरे अनुगमन

MadhesKhabar

Leave a Comment