वीरगन्ज,१८बैशाखः ठिक एक वर्ष अगाडिको कुरा हो । वीरगन्ज घुमेर विराटनगर फर्किएका सरोजानन्द मिश्राले वीरगन्ज निबासी आफ्ना मित्र चन्द्रकिशोरलाई मोबाइलमा एक सन्देश लेखेर यस्तो पठाएका थिए – तुम्हारे शहरका मौसम बडा सुहाना लगे ,मै एक साम चुरालु अगर तुम्हे बूरा ना लागे’ ।(तिम्रो शहर त निक्कै मनमोहक पो भएछ, म त्यहाँको एक रात चोर्न चाहन्छु यदि तिमीलाई नराम्रो लाग्दैन भने ।)
हो मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज शहरको मुहार फेरिएको छ ।मुख्य शहरी क्षेत्र सफासुग्घर देख्छि । शहरमा रहेका धार्मिक मठमन्दिरहरुको सौन्दर्यकरण गरेर आकर्षक बनाइएको छ ।
हुन त मुलुकको प्रमुख आर्थिक नगरी भनेर चिनिएको वीरगन्जलाई तीन÷चार बर्षअघि सम्म फोहोर र मच्छड(लामुखुट्टे) को शहर भनेर गिज्याइन्थ्यो ।वीरगन्जले मच्छडगन्जको उपमापनि पाएको थियो ।तर अहिले वीरगन्जको मुहार फेरिएको छ । तीन÷चार वर्षपछि बाहिरबाट वीरगन्ज आउनेहरुले भन्छन् ,‘ आहा वीरगन्ज त कति सफा पो भएछ ।’
तीन वर्षपहिले वीरगन्जको मुख्यसडकमै जताततै फोहोरको थुप्रो हुन्थ्यो ।फोहोर र नालाको दुर्गन्धले सडकमा हिड्नै मुश्किल पथ्र्यो । तर अहिले त्यो बाध्यता छैन । वीरगन्जका मुख्य शहरी क्षेत्रका सडक स्वच्छ र सफा देखिन्छन् ।यहाँका धार्मिक र पर्यटकीय सम्पदाहरु पुर्ननिर्माण र सौन्दर्यकरण गरेर आकर्षक पारिएका छन् ।
वीरगन्ज महानगरको नेतृत्व मेयर राजेशमान सिंहले सम्हालेको ३ वर्ष पुग्दैछ ।त्यस यता महानगरको नेतृत्वले वीरगन्जलाई ‘बैभव वीरगन्ज’ बनाउने नारा लिएर शहरको सरसफाई र सौन्दर्यकरणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।त्यसैको नीतजा हो अहिलेको स्वच्छ र सफा वीरगन्ज ।
कुनै बेला अत्यन्त साँघुरो सडक, अव्यवस्थित घनाबस्ती र फोहोरका कारण अस्तव्यस्त देखिने वीरगन्ज शहर अहिले सफा र व्यवस्थित हुँदै गएको छ ।वीरगन्ज शहरको मुहार फेरिनुमा अहिलेको नेतृत्वले केहि निर्मम निर्णयहरुपनि लिएको छ ।
सडक, नाला वा खाली जग्गामा जथाभावी फोहोर फाल्नेलाई वीरगन्ज महानगरपालिकाले आर्थिक जरीवाना तिराउने गरेको छ ।२०७९ पुष १७ देखि गत चैत मसान्तसम्म सडक वा नालामा जथाभावी फोहोर फाल्ने र गर्ने १ हजार ४ सय भन्दा बढी व्याक्ति तथा संस्था कारबाहीमा परिसकेका छन् । महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँका अनुसार, २०७९ पुस १७ देखि २०८१ चैत ३१ सम्म जथाभावी फोहोर फाल्ने १ हजार ४ सय ४१ जनालाई कारबाही गरि ४२ लाख ४३ हजार १०५ रुपैयाँ जरिवाना तिराइएको छ ।न्युनतम ५ सय रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गरिएको मियाँले बताए ।
मियाँले भने,‘ जथाभावी फोहोर फाल्ने प्रवृति रोक्न सुरुका चरणमा हामीले टोल टोलमा पुगेर सचेतनामुलक कार्यक्रम गयौं । तर त्यसले काम नगरेपछि २०७९ पुस १७ गतेदेखि आर्थिक जरिवाना नै तिराउन थाल्यौ । जसका कारण अहिले जथाभावी फोहोर फाल्ने प्रवृतिमा निक्कै कमी आएको छ । अनि शहरपनि पहिलेको भन्दा अहिले निक्कै सफा र स्वच्छपनि देखिन थालेको छ ।
महानगरले हरेक वडामा बिहान र साँझमा गरी दुई पटक ट्याक्टर र दुई पाङग्रे ठेला पठाएर घर, पसल वा संस्थाका फोहोर संकलन गर्दै आएको उनले बताए । यसका साथै शहरी क्षेत्रका मुख्य सडकमा दैनिक ३ पटक झाडुपनि लगाउने गरिएको उनले बताए । यस्तै नाला र ढलपनि नियमित रुपमा सफाई भइरहेको जानकारीपनि उनले दिए ।वीरगन्जमा वर्षाका बेला ढलको पानीले हुने डुबानको समस्या निराकरणका लागि यसबर्षपनि बर्षा सुरु हुनु अगावै करिब ९ किलोमिटर मेन ड्रेन नालाको माटो निकालेर सफा गरिएको मियाँले बताए । उनले भने,‘ वीरगन्जको मेन ड्रेनको माटो नै झिकेर सफा गरिएको यो झण्डै २५ वर्षपछि नै हो ।’
वीरगन्जलाई धार्मिक पर्यटनको केन्द्र बनाउने मेयर राजेशमान सिंहको नारालाई सार्थकता दिन महानगर क्षेत्रमा वर्षौदेखि ओझेलमा रहेका ऐतिहासिक धार्मिक मठमन्दिरहरुको महानगरपालिकाले सौन्दर्यकरण गरेको छ। वीरगन्जकै प्रमुख शक्तिपीठ गहवामाई मन्दिर र मन्दिर प्रांगणको स्तरोन्नत्ती र सौन्दर्यकरण गरि आर्कषक बनाइएको छ । यस्तै मन्दिर प्रांगणमा रहेका पूराना संरचना हटाएर पार्क जस्तै फराकिलो र खुल्ला बनाइएको छ ।
यस्तै काठमाडौंको पशुपतिनाथ मन्दिर जस्तै रहेको वीरगन्ज चिनीमिल परिसरको झण्डै चार दशक पूरानो पशुपतिनाथ मन्दिरकोपनि सौन्दर्यकरण गरि विगत एक वर्षदेखि नियमित पूजापाठ सुरु गरिएको छ ।यसका साथै अन्य १० भन्दा बढी मन्दिरहरुकोपनि रंगरोगन र विद्युतीय सौन्दर्यकरण गरिएको महानगरपालिको विद्युत शाखाका प्रमुख ई. राजिवकुमार उपाध्याले बताए।
वीरगन्ज–१४ पिपरामा रहेको झण्डै १३५ वर्ष पुरानो नरसिंह भगवान्को मन्दिरको पुर्ननिर्माण र सौन्दयकरणका लागि ५० करोड रुपैयाँ विनियोजन गरेर कामपनि सुरु गरिसकिएको मेयर राजेशमान सिंहले जानकारी दिए ।यस्तै वीरगन्ज–१९ विन्दबासीनीमा रहेको बिन्दवासिनी माईको मन्दिर पुर्ननिर्माण र स्तरोन्नत्तीका लागि डिपिआर (विस्तृत परियोजना प्रस्ताव) तयार भइसकेको भन्दै मेयर सिंहले छिट्टै काम सुरु हुने बताए ।
वीरगन्जको चिनारी घण्टाघर, शंकरचार्य प्रवेशद्वारकोपनि रंगरोगन र विद्युतीय सौन्दर्यकरण गरिएको विद्युत शाखा प्रमुख उपाध्यायले बताए । यसका साथै वीरगन्ज शहरी क्षेत्रमा पर्ने सबै मुख्य सडकका डिभाइडरमा रहेका पोलहरुमा झिलिमिली बल्ने स्ट्रिट लाइट(रंगीन बत्ती)हरु जडान गरिएको उपाध्यायले जानकारी दिए । शंखधर शाख्वा र ईको पार्कमा गार्डेन लाइटहरु जडान गरिएको उनले बताए ।
घण्टाघर परिसरभित्रै आकर्षक वाटर फाउन्टेन र गण्डक चोकको शहिद तेज बहादुर अमात्यको शालीक परिसरकोपनि रंगरोगन गरी त्यहाँपनि वाटर फाउन्टेन जडान गरिएको छ ।शलिक परिसरकै छेउको खाली जग्गामा विद्युतीय सौन्दर्यकरण गरेर सेल्फि स्पोर्ट बनाइएको छ ।
उपाध्यायले भने,‘ वीरगन्ज महानगरपालिकाले ‘उज्यालो अभियान’ नै चलाएको छ ।जसका कारण वीरगन्ज शहर रातिको समयमा झिलीमिली देखिन्छ । अभियान अन्तर्गत महानगरका ३२ वटै वडामा गरी हालसम्म करिब १४ हजार विद्युतको पोलमा बत्ती जडान गरिएको छ । शहरी क्षेत्रमा रहेका ४ सय ५० वटा पोलमा स्ट्रिट लाइट (रंगीन बत्ती) लगाइएको छ । दुई स्थानमा हाई मास्ट लाइटपनि जडान गरिएको छ ।वीरगन्ज शहरलाई झिलीमिली बनाउनका साथै रातभरी उज्यालो राख्न महानगरले ‘उज्यालो अभियान’ कार्यक्रम चलाएको उनले बताए ।
वीरगन्ज शहरलाई ‘हरित शहर’ बनाउने अभियानपनि महानगरले चलाएको छ । शहरका विभिन्न स्थानका सडकको डिभाइडर र सडकको दायाँबायाँमा वृक्षारोपण गरिएको छ । महानगरका विभिन्न स्थानका सडकका डिभाइडर,सडकका दायाँबाया तथा खाली सार्वजनिक जग्गामा गरी हालसम्म १५ हजार बढी बिरुवा रोपिएको महानगरको वन,वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख ई. राकेश साहले बताए ।उनले भने,‘२० किलोमिटर बढी सडकका डिभाइडर र दायाँबायाँमा हामीले अर्नामेन्टल प्लान्ट (फुल,सजावटका बोट) रोपेका छौं ।
अतिक्रणम मुक्त बनाइएका खाली जग्गाहरुमा भने काठ उत्पादन हुने रुखका बिरुवाहरु रापेका छौं ।’यस्तै शंखधर शाख्वा पार्क,ईको पार्क र ज्येष्ठ नागरिक र्पाकमापनि अर्नामेन्टल प्लान्ट (फुल,सजावटका बोट) रोपेको उनले बताए । वीरगन्जलाई हरित शहर बनाउने अभियान अहिलेपनि जारी रहेको साहले सुनाए ।
वीरगन्जमा अर्को एक पर्यटकीय गन्तब्य स्थलका रुपमा वीरगन्ज महानगरपालिकाले वीरगन्ज–१९ मा ५० करोड रुपैयाँको लागतमा कृत्रिम ताल बनाउने प्रकृया अगाडि बढाइसकेको ईन्जिनियर प्रकाशमान अमात्यले जानकारी दिए । तिलावे जल पर्यटक क्षेत्र परियोजना अन्तर्गत वीरगन्ज– १९ स्थित तिलावे नदि छेउको २५ बिघा क्षेत्रफलमा कृत्रिम ताल बनाउने प्रकृया थालिसकिएको अमात्यले जानकारी दिए । उनका अनुसार, त्यसका लागि एक वर्ष अघि नै डिपीआर तयार भइसकेको थियो । अबको दुई बर्षभित्रमा ताल निर्माण हुने लक्ष्य लिएर काम अगाडि बढाइएको अमात्यले जानकारी गराए ।
वीरगन्जका मेयर राजेशमान सिंह भने वीरगन्जलाई ‘बैभव वीरगन्ज’ बनाउने अभियानमा आँफु लागेको बताए । महानगरमा आँफु आएदेखि पहिलो प्राथमिकता शहरको सरसफाई र दास्रो प्राथमिकता शहरको सौन्दर्यकरणलाई राखेर काम गरिरहेको उनले बताए । उनले भने,‘मैले चुनाव ताका गरेका वाचाहरु मध्ये धेरै काम पुरा गरिसकेको छु ।केहि काम अझै बाँकी छन् । मैले गरेको चुनावी वाचा पुरा गरेरै छाड्छु।’
आँफु नेतृत्वमा आउनु भन्दा पहिले वीरगन्जको सरसफाई र मुख्य सडकको अवस्थाा र अहिलेको अवस्थामा के फरक छ ? त्यो वीरगन्जबासीले प्रत्यक्ष देखिरहेको उनले बताए ।
आँफु अघिको नेतृत्वले थालेको ‘उज्यालो वीरगन्ज’को अभियान अध्याँरो वीरगन्जमा परिणत भइसकेको अवस्थामा आँफु नेतृत्वमा आएपछि फेरि ‘उज्यालो वीरगन्ज’को अभियानलाई अगाडि बढाएर महानगरका ३२ वटै वडालाई उज्यालो बनाएको दाबी उनको छ ।
वीरगन्जमा शंखधर शाख्वा पार्क, ईको पार्क र ज्येष्ठ नागरिक पार्क निर्माण गरिएको उनले बताए । वीरगन्जलाई धार्मिक पर्यटन नगरीका रुपमा विकसित गर्ने काममा निरन्तर लागिरहेको उनले सुनाए ।वीरगन्जले विरासतमा पाएका ऐतिहासिक र धार्मिक सम्पदाहरुको जगेर्ना र सौन्दर्यकरण काम गरिरहेको मेयर सिंहले बताए ।
मेयर सिंहले भने,‘ वीरगन्ज नाका भएरै नेपालमा ठूलो संख्यामा भारतीय पर्यटक भित्रिन्छन् । तर उनिहरु सिधै गन्तब्यका अन्य शहरमा जान्छन् । वीरगन्ज बस्नै रुचाउँदैनन् । वीरगन्जलाई बाटोको रुपमा मात्र प्रयोग गर्छन् ।किनकी वीरगन्जमा पर्यटकका लागि घुम्ने र रमाइलो गर्ने त्यस्तो कुनै पर्यटकीय पूर्वाधार नै पहिला थिएन। तर जब म नेतृत्वमा आए तब यो सोचे कि ‘नेपाल घुम्न आउने पर्यटकलाई वीरगन्जमा कम्तिमापनि दुई रात राख्न सकौं ।त्यसैका लागि यहाँ रहेका धार्मिक मठमिन्दर, पर्यटकीय स्थलहरुको पहिचान गरेर तीनको संरक्षण, सौन्दर्यकरणका साथै प्रचारप्रसारको काम महानगरले गरिरहेको छ।’यसका अतिरिक्त वीरगन्जमा पर्यटकलाई टिकाउन हरेक चाडपर्ब वा उत्सवमा वीरगन्जमा रात्री बजारपनि आयोजना गर्दै आएको मेयर सिंहले बताए ।
भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गरिरहेको उनले सुनाए । उनले भने,‘शहरीमात्रै नभई ग्रामीण भेगका वडामा कालोपत्रे र ढलान सडक निर्माण गरिएको छ । हु्न त बजेटको अभावले ग्रामीण भेगमा सोचे जस्तो अझै हुन सकेको छैन । तैपनि उपलब्ध बजेट र साधनश्रोतले भ्याएसम्म ग्रामीण वडामा पनि शिक्षा,स्वास्थ्य र सडकको पूर्वाधार विकासमा काम भइरहेको छ ।’
झण्डै २५ वर्षपछि अहिले सफाई भइरहेको वीरगन्जको करिब ९ किलोमिटर मुख्य ड्रेन(नाला)को दाँयाबाँया दुवै तिरको अतिक्रमणमा परेको जग्गा अतिक्रमण मुक्त बनाएर दुवैतर्फ १०/१० फिटको साइकल लेन सडक बनाउने योजना रहेकोपनि उनले सुनाए ।
देशका ६ वटा महानगरमध्ये सबैभन्दा कम बजेट संघ सरकारबाट वीरगन्जले नै पाउने गरेको गुनासो सुनाउँदै उनले भने,‘ यत्ति हुदाँहुदैंपनि मैले हिम्मत चाहि हारेको छैन । वीरगन्जबासी, यहाँका उद्योगी–व्यपारी सबैको हातेमालो भयो भने वीरगन्ज ‘बैभव वीरगन्ज’ बन्छ नै । म बनाएरै छाड्छु ।’