Madhes Khabar
स्थानिय

पर्साका दुई पालिकाका शिक्षक–कर्मचारीले दसैंमा पनि पाएनन् तलब

वीरगन्ज,२३असोजःहिन्दु नेपालीहरूको मुख्य चाड दसैँ लागिसक्दा पनि पर्साका दुई पालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरूले तलब पाएका छैनन्।

बहुदरमाई नगरपालिका र पकहाँ मैनपुर गाउँपालिकाका ५६३ शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब पाएका छैनन्। नयाँ आर्थिक वर्षको साउन महिनादेखि नै तलब नपाएको उनीहरूको गुनासो छ।

बहुदरमाई नगरपालिकाको नगर सभा नहुँदा नगरपालिकाअन्तर्गतका १८ विद्यालयका २१८ शिक्षक र नगरपालिकासहित विभिन्न कार्यालयका १५८ सरकारी कर्मचारीले तलब नपाएका हुन्।चालू आर्थिक वर्ष सुरु भएको साउनदेखि अहिलेसम्मको तलब र चाडपर्वमा पेस्कीसमेत नपाउँदा दसैँ मनाउन समस्या भएको बहुदरमाई– ३ नगरदाहाँस्थित महावीर साह माविका शिक्षक सुदर्शन प्रसादले बताए।

तलबको माग गर्दै असोज १६ गते उनीहरूले मेयर सिंगासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफालाई ज्ञापनपत्रसमेत बुझाए। तर, दसैँ आइसक्दासमेत तलब नपाएको अर्का शिक्षक विकेश प्रसादले बताए। ‘चाडबाडको समयमा तीन महिनादेखिको तलब र पेस्की नपाउँदा छोराछोरीको स्कुल फी तिर्न पाएको छैन। घर खर्च चलाउन पनि समस्या भएको छ,’ उनले भने।

बहुदरमाई नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूबिचको विवादको कारण नगरसभा नहुँदा सामाजिक सुरक्षा भत्तासमेत वितरण हुन सकेको छैन। नगर सभा नहुँदा दुईवटा वडामा गत आर्थिक वर्षको समेत र नयाँ आर्थिक वर्षमा सबै वडाको सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको हो।

दसैँपछि चाँडै नगर सभा गरेर तलब पठाउने मेयर तेलीले बताए।। नगरपालिकाको आपसी विवादका कारण नगर सभा हुन नसकेको बताउँदै उनले समस्या समाधानको प्रयास आफूले जारी राखेको बताए।

यस्र्तै पकहाँ मैनपुर गाउँपालिकाअन्तर्गतका १६ विद्यालयका ११५ शिक्षक र नगरपालिकासहित विभिन्न सरकारी कार्यालयका ७२ कर्मचारीलेपनि तलब पाएका छैनन्।

पकहाँ मैनपुरको गाउँसभा भइसकेपनि आफूहरूले तलब नपाएको शिक्षक महासंघ पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश पटेलले बताए। पकहाँ मैनपुरमापनि नयाँ आर्थिक वर्षको साउनदेखि असोजसम्मको तलब र दसैँ पेस्की दिइएको छैन।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले भने गाउँसभा ढिलो हुँदा शिक्षक र कर्मचारीको तलब पठाउन ढिलो भएको बताए। गाउँसभा सम्पन्न भएपनि आफूहरू गाउँपालिकाको खाता सञ्चालन प्रक्रियामै रहेको बताउँदै उनले चाँडै तलब पठाउने आश्वासन दिए। तिवारी यादव/नयाँपत्रिका

Related posts

भोजपुरी भाषामा समाचार बुलेटीन प्रकाशन र प्रसारण गर्ने वीरगन्ज महानगरको घोषणा

MadhesKhabar

पर्साकाे बिन्दवासिनीमा ट्याक्टरले किचिएर बालककाे मृत्यु

MadhesKhabar

वीरगन्ज नाका ३ दिन बन्द रहने

MadhesKhabar

Leave a Comment