जनकपुरधाम,१२असोज:मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको वर्षा र बाढीका कारण मधेस प्रदेशका विभिन्न नदीको जलस्तरमा अत्याधिक बृद्धि भइरहेकाले तटीय क्षेत्रमा आवश्यक विपद प्रतिकार्य गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निर्देशन दिएका छन् ।
शनिबार मुख्यमन्त्री सिंहले पूर्वपश्चिम राजमार्गस्थित बागमतीलगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धाैजीसंग फोन सम्पर्क गरी जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मानवीय तथा भौतिक क्षति हुन नदिन लगायत सबै खालका उद्धारजन्य कार्यका जुट्न निर्देशन दिएका हुन् ।
दुवै प्रहरी प्रमुखले सप्तकोशी र बागमती नदीबाहेक अन्य नदीको जलस्तर खतराचिह्नभन्दा माथि पुगि नसकेको मुख्यमन्त्री सिंहलाई जानकारी गराउँदै तटबन्धलगायतका संरचनाको आकस्मिक संरक्षण गरी गाउँबस्तीमा जलप्रवाह रोक्न,जाेखिममा रहेकाहरुलाई डुबान क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न र अन्य संकटबाट पार पाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँमा परिचालन भइरहेको बताए ।
मुख्यमन्त्री सिंहले विपद व्यवस्थापन कार्यका लागि जिम्मेवार जनप्रतिनिधि र सरकारी अधिकारी तथा स्वयंसेवी संस्थाहरू समेतलाई सकृय हुन आह्वान गरे।

