
वीरगन्ज, २९ साउन : वीरगन्जमा नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघले आयोजना गरेको रक्तदान कार्यक्रममा १०५ जनाले रगतदान गरेका छन् ।संघको ५५ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित रक्तदान कार्यक्रममा २ जना महिलासहित १०५ जनाले रक्तदान गरेका हुन् ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले युवाहरुले रक्तदान गर्ने बारे गाउँगाउँ सम्म चेतना जागृत गराउर्नुु पर्नेमा जोड दिए ।उनले अहिले पनि अस्पतालहरुमा उपचार गर्न आउने बिरामीले सहजै रगत पाउने अवस्था नरहेको भन्दै रक्तदानका लागि जागृत गराउनु पर्ने आवश्यकता रहेको बताए ।
फरक प्रसंगमा बोल्दै मेयर सिंहले वीरगन्जलाई व्यवस्थित र सफा सुन्दर बनाउन सबैको साथ र सहभागिताको आवश्यकता रहेको भन्दै त्यसका लागि संघसंग हातेमालो गरेर आफूहरु अघि बढ्न तयार रहेकोपनि बताए ।
संघका जिल्ला अध्यक्ष राम गोसाईको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।

