मधेसखबर
वीरगन्ज ,१८पुस : पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ खलुचडीमा एक दलित महिलालाई बाेक्सीकाे आराेपमा कुटपिट गरि घाइते बनाएकाे घटना प्रकाशमा आएकाे छ ।
खलुचडीकी दलित महिला ६० वर्षीया सुदामा देवी चमईनलाई गाउँकै चार जनाले बाेक्सीकाे आराेप लगाएर आइतबार निर्घात कुटपिट गरि घाइते बनाएकाे सुदामा देवीका छाेरा प्रभु रामले बताए ।
कुटिपिटबाट गर्दन, टाउकाे र शरिरका विभिन्न भागमा चाेट लागेर घाइते भएकि सुदामा देवीको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।
छाेरा प्रभुका अनुसार , आईतबार साँझ घरमै घुर तापेर बसिरहेका बेला सुदामा देवीलाई स्थानीय नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासुदेव महरा चमार र सुरेश महरा चमारले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका थिए ।उनिहरुले सुदामा देवीलाई मानव मलमुत्र खुवाउने प्रयास पनि गरेकाे तर स्थानियले राेकेकाे छाेरा प्रभुले बताए ।
प्रभुले भने, आइतबार म नयाँ साल मनाउन पिकिनक गएकाे थिए, त्यहि माैका छाेपेर छिमेककै चार जनाले मिलेर आमालाई बाेक्सीकाे आराेप लगाउदै बाँसकाे भाटाले हानेर निर्घात कुटपिट गरेछन् , घर आई पुग्दा आमालाई सिकिस्त देखेपछि प्रहरीलाई खबर गरे , प्रहरीकै सहयाेगमा एम्बुलेन्समा राखेर वीरगन्जमा ल्याएर भर्ती गराए ।
यसअघि पनि गाऊघरमा काेहि बिरामी पर्दा आमाले गर्दा नै बिरामी परेकाे भनेर आक्षेप लगाउने गरिएकाे प्रभुकाे भनाइ छ ।
आइतबार भएकाे घटनामा संलग्नहरु विरुद्ध गाँउकै प्रहरी चाैकीमा उजुरी समेत दर्ता गराएको उनले बताए ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले भने सुदामा देवीको छिमेककै ४० वर्षीया महिला विन्दा देवीसँग भाँडाकुडाको विषयलाई लिएर झगडा भएर आपसमा कुटपिट भएकाे जानकारी आफुले पाएकाे बताए ।
झगडामा सुदामा देवी र विन्दा देवी दुवै जना सामान्य घाइते भएको उनको भनाई छ । गिरीले भने , बोक्सी आरोप लगाएको भन्ने विषयमा प्रहरीलाई जानकारी छैन, त्यस्ताे व्यवहाेराकाे उजुरि पनि परेकाे छैन ,मातहतको प्रहरी कार्यालयले भाँडा वर्तनको विषयलाई लिएर दुई जना महिलाबीच झगडा भएको भनेर सूचना दिएको छ ।’