
मधेसखबर
वीरगन्ज,१०जेठ :वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित र पराजित भएकाहरुको मत संख्या घटबढ भएको छ ।
मङगलबार बिहान निर्वाचन कार्यालयले सन्चारकर्मीलाइ उपलब्ध गराएको मत संख्या , निर्वाचन आयोगले आफनो वेभसाइटमा बेलुकी गरेको अद्यावधिक तथ्याङकमा कम देखिएको छ ।
बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा, मेयरमा निर्वाचित जसपाका राजेशमान सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गरेको उल्लेख थियो । तर निर्वाचन आयोगको वेभसाइटमा भने सिंहले ४५ हजार ६ सय ५५ मत प्राप्त गरेको उल्लेख छ ।बिहान सार्वजनिक तथ्याङको भन्दा ५ सय ६० कम मत सिंहले पाएको निर्वाचन आयोगको वेभसाइटमा उल्लेख छ ।
यस्तै बिहान सार्वजनिक तथ्याङकमा मेयरमा पराजित एमालेका उम्मेदवार विजय सरावगीले २३ हजार ६ सय ७१ मत पाएको उल्लेख गरिएको थियो । तर निर्वाचन आयोगको वेभसाइटमा भने सरावगीले बिहानको तथ्याङक भन्दा ३ सय ७२ मत कम अर्थात २३ हजार २ सय ९९ मत प्राप्त गरेको उल्लेख छ ।
यस्तै बिहान सार्वजनिक तथ्याङकमा राप्रपाका मेयर उम्मेदवार गिरीश गिरीले ३ हजार ३ सय १३ मत पाएको उल्लेख गरिएको थियो । तर निर्वाचन आयोगको वेभसाइटमा भने गिरीले बिहानको तथ्याङक भन्दा २३ मत बढि अर्थात ३ हजार ३ सय ३६ मत प्राप्त गरेको उल्लेख छ ।
तर उपमेयरमा विजयी र पराजित उम्मेदवारहरुले प्राप्त गरेको मत संख्यामा भने घटबढ भएको छैन ।
मङगलबार बिहान ३२ वटै वडाको मतगणना सकिए लगत्तै सन्चारकर्मीहले हतार गरेकाले रुजु गर्न नभ्याइएको र पछि रुजु गर्ने क्रममा मत संख्यामा केहि घटबढ हुन गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तर नतीजामा भने यसले कुनै फेरबदल नभएको उसको भनाइ छ ।
बिहान सम्पन्न मतगणना पछि उम्मेदवारहरुले प्राप्त गरेको मत संख्या रुजु गरेर निर्वाचन आयोगमा पठाइएको र आयोगले त्यहि अनुसार वेभसाइटमा अद्यावधिक गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


