रौतहट,६जेठ : रौतहटमा अवैधरुपमा सञ्चालित औषधि पसल अनुगमन गर्न वीरगन्जबाट गएका कर्मचारीहरुमाथि प्रहरीकै सामु कुटपिट भएको छ । सोमबार रौतहटको राजपुर नगरपालिका – ४ मा अनुगमन गर्न गएका औषधि व्यवस्था विभाग वीरगन्जका कर्मचारीहरुमाथि स्थानीय महिला र औषधी पसल सञ्चालकले कुटपिट गरेका हुन् ।
औषधि पसल दर्ता नगरी चलाएको,विक्री वितरणमा रोक लगाइएको औषधि समेत बिक्री गरेको उजुरीको आधारमा औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जबाट टोली अनुगमन गर्न जाँदा स्थानीयले कुटपिट गरेको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शम्भु साहले बताए ।
स्थानीयले गरेको प्रतिकारमा फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका छ्न् । घाइते जयसवाल र शर्माको अवस्था सामान्य रहेको छ ।
अनुगमन टोलीमा औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जका कर्मचारीसँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेशप्रसाद तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्रराज कँडेलसहितको टोलि परिचालित थियो । स्थानीयले प्रहरी निरीक्षक कँडेलको मोबाइल समेत फुटाइदिएको साहले बताए । स्थानीयले औषधि व्यवस्था विभागका कर्मचारीको आवश्यक कागजात समेत खोसिदिएका थिए ।
स्थानीय शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षीदेखि औषधि पसल सञ्चालन गर्दै आएको उजुरीपछि विभागको टोली अनुगमनमा गएको थियो । घटनाको सुक्ष्म तरिकाले अनुसन्धान अघि बढाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । कुटपिटमा संलग्नहरुको खोजीकार्य जारी रहेको खड्काले बताए ।साभारः अन्नपूर्णपोष्ट

