
मधेसखबर
वीरगन्ज,२७ बैशाख : नेकपा एमालेबाट वीरगन्ज महानगरमा मेयरका उम्मेदवार विजयकुमार सरावगी माथि वीरगन्जको नगवामा सोमबार राति सांघातिक व्यवहार भएको भन्दै नेकपा एमाले पर्साले आपत्ति जनाएको छ ।
एमाले पर्साका इन्चार्ज प्रभु हजराले मंगलबार दिउसो विज्ञप्ति जारी गर्दै मेयरका उम्मेदवार सरावगी माथि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहका कार्यकर्ताले गुण्डागर्दी शैलीमा गरेको आक्रमण गर्ने प्रयास गरेको भन्दै निन्दा गरेका छन् ।
एमाले पर्सा इन्चार्ज हजराले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘निर्वाचनमा उम्मेदवारले मतदातालाई सन्तुष्ट पारेर उनीहरूको मत आफूलाई हाल्न आग्रह गर्ने कुराको ग्यारेन्टी संविधानले गरेको छ ,तर, सरावगीसंग राजेशमान सिंहका कार्यकर्ताले गुण्डागर्दी शैलीमा प्रदर्शन गरेको व्यवहार प्रति नेकपा एमाले पर्साको गम्भीर ध्यानाकर्षण भएको छ,’ ।
बैशाख ३० गते हुने निर्वाचनमा राजनीतिक दलहरु मतदाताको घरमा गएर निर्वाध रुपमा मत माग्न पाउने संवैधानिक अधिकारलाई समेत कुण्ठित हुने हर्कत हुन थालेको विविध घटनाक्रमले देखाएको एमालेले उल्लेख गरेको छ । यसले राज्य शान्तिपूर्ण रुपमा निर्वाचन गर्न चाहाँदैन भन्ने कुरालाई बल पु¥याएको छ,’ एमालेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेका मेयर उम्मेदवार सरावगीसँग गएका सहकर्मीलाई पनि घेरा हालेर निर्घात रुपमा कुटपिट गरिएको एमालेले जनाएको छ । एमालेका उम्मेदवार सरावगीलाई अवरोध सृजना गरी घन्टौंसम्म घेराबन्दीमा राखेको र प्रहरीले उद्धार गरेर ज्यान जोगाउनु परेको भन्दै एमालेले यस्तो भयपूर्ण अवस्थामा शान्तिपूर्ण रुपमा मताधिकार कसरी प्रयोग हुन्छ भन्ने प्रश्न उठेको बताएको छ ।
राज्यको गैरजिम्मेवार र निकम्मापनका कारण सृजित यस्ता निषेधको राजनीति गर्ने पात्रहरुलाई कानूनी कारवाहीको दायरामा ल्याई अविलम्ब कारवाही गर्न एमाले माग गरेको छ ।
अराजक शैलीमा प्रस्तुत भएकाहरुले उन्मुक्ति पाउनु र त्यही वडाका नगर परिषद सदस्य सन्तोष गुप्तालाई प्रहरीले गैरकानूनी रुपमा गिरफ्तार गरी हिरासतमा राख्नुले सरकार पनि निष्पक्ष निर्वाचनको पक्षमा नरहेको हो कि भन्ने आशंका उत्पन्न भएको एमालेले जनाएको छ ।
एमालेको शालिनतापूर्ण आग्रहलाई बेवास्ता गरे त्यसबाट निस्किने सबै परिणामको जिम्मेवारी स्थानीय प्रशासनले लिनु पने चेतावननी पनि एमालेले विज्ञप्ति मार्फत दिएको छ ।

