
माधुरी महत्तो
वीरगन्ज , ११ बैशाख : स्थानीय तह निर्वाचनका लागि मनोनयन गर्ने पहिलो दिन आइतवार वीरगन्ज महानगरसंगै पर्साको १४ वटै पालिकामा न्युन उम्मेदवारी परेको छ ।
प्रमुख राजनीतिक दलहरुले पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारको अन्तिम टुङगो लगाउन नसकेकाले पहिलो दिन न्युन उम्मेदवारी परेको हो । उनिहरुले सोमवार उम्मेवारी दर्ता गराउने तयारी गरेका छन् ।
पहिलो दिन आइतवार पोखरीया नगरपालिकामा मेयर र उपमेयर गरि विभिन्न पदमा ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पोखरीयाका प्रमुख निर्वाचन अधिकृत पदम बहादुर कार्कीका अनुसार , पोखरीयाको मेयर पदका लागि १ जना स्वतन्त्र र २ जना दलकोबाट गरि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा १ जना स्वतन्त्र र १ जना दलबाट गरि २ जनाले मनोनयन दर्ता गराएका छन् । पोखरीया नगरपालिकाको विभिन्न वडामा गरि वडा अध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ ।ती सबै रमेश खरले नेतृत्वको नेपाल सुशासन पार्टीका हुन् । पोखरीया नगरपालिका वडा नम्बर ९ बाट वडा सदस्यमा २ जनाको मात्रै उम्मेवारी दर्ता भएको छ ।
पर्साकै बहुदरमाई नगरपालिकामा भने पहिलो दिन मेयर र उपमेयर दुवै पदमा कसैको पनि उम्मेदवारी परेन ।वडा अध्यक्षमा भने ३ जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको बहुदरमाई नगरपालिकामुख्य निर्वाचन अधिकृत कैलाश भट्टराइले जानकारी दिए ।
पर्साकै पर्सागढी नगरपालिकामा पनि पहिलो दिन मेयर र उपमेयर दुवै पदमा कसैको पनि उम्मेदवारी परेन । पर्सागढी नगरपालिकामा एक जना वडा अध्यक्षको मात्रै उम्मेदवारी परेको छ । वडा नबर ४ को वडाध्यक्षमा १ जनाले मात्रै स्वतन्त्रबाट उम्मेदवारी दिएको त्यहाका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद पौडेलले जानकारी दिए ।
छिपहरमाई गाउँपालिकामा भने पहिलो दिन कुनै पनि पदमा उम्मेदवारी परेन । पहिलो दिन आइतवार उम्मेदवारी दर्ता गर्न कोहि पनि नआएको त्यहाका मुख्य निर्वाचन अधिकृत मुकुन्द निरौलाले जानकारी दिए ।
धोबिनी गाउँपालिकामा उपाध्यमा पत्रकार आरके पटेल सहित ४ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा पत्रकार पटेल , वडा अध्यक्षमा पनि १ जना र वडा सदस्यमा २ जनाले मात्रै उम्मेदवारी दिएका हुन्। उनिहरु चारै जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको त्यहाका मुख्य निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।
जिराभवानी गाउँपालिकामा भने पहिलो दिन ९ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । त्यहा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कसैले पनि उम्मेदवारी दिएनन् । वडाध्यक्षमा २ जना र वडासदस्यमा ७ जना गरि ९ जनाले उम्मेदवारी दर्ता गराएको त्यहाका मुख्य निर्वाचन अधिकृत झबिन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
ठोरी गाउपालिकामा भने १ जनाको मात्रै उम्मेदवारी परेको छ । पालिका अध्यक्ष पदका लागि नेकपा एकिकृत समाजवादीबाट गङगा बहादुर ख्डकाले मनोनयन दर्ता गराएको ठोरीका मु्ख्य निर्वाचन अधिकृत शिवराज न्यौपानेले जानकारी दिए ।
विन्दवासिनी गाउँपालिकामा भने पहिलो दिन विभिन्न पदमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा १ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्षमा ५ जना तथा वडासदस्यसमा २० जना गरि २८ जनाले उम्मेदवारी दर्ता गराएको त्यहाका मुख्य निर्वाचन अरुण कुमार कोइरालाले जानकारी दिए ।
जगरनाथपुर गाउँपालिकामा पहिलो दिन ५० जनाको उम्मेदवारी परेको छ । गाँउपालिका अध्यक्षमा ३ जना, उपाध्यक्षमा पनि ३ जना, वडाध्यक्षमा १२ जना र वडासदस्यमा ३२ जनाले उम्मेदवारी दर्ता गराएको त्यहाका मुख्य निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए ।
कालिकामाई गाउँपालिकामा भने पहिलो दिन विभिन्न पदमा ३० जना भन्दा बढिको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए ।
पटेर्वासुगौली र सखुवाप्रसौनी गाँउपालिकामा पहिलो दिन केहिको उम्मेदवारी परे पनि त्यसको विस्तृत विरण भने प्राप्त भइसकेको छैन ।
वीरगन्ज महानगरमा भने मेयर पदमा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।
महानगरको मेयर पदका लागि नेपाल सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट १÷१ गरि दुइ जनाले र स्वतन्त्रबाट १० जनाले गरि कूल १२ जनाले मनोननयन दर्ता गराएको महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
यस्तै वीरगन्जको उपमेयर पदका लागि भनेपनि पहिलो दिन आइतवार कसैको पनि उम्मेदवारी नपरेको पौडेलले जानकारी दिए ।
पहिलो दिन आइतवार महानगरको वडा अध्यक्ष पदका लागि पनि विभिन्न वडाबाट गरि १९ जनाले मनोनयन दर्ता गराएका छन् ।
ती मध्ये नेकपा एकीकृत समाजवादी , राप्रपा , जनमत पार्टी र विवेकशील पार्टीका १÷१ जना रहेको र बाँकी १५ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएको पौडेलले बताए ।
यसैगरि महानगरको दुइ वडा सदस्यका लागि २९ जना , महिला वडा सदस्यका लागि १० जना र दलित महिला वडा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
मनोनयन दर्ताका लागि पहिलो दिन आइतवार वीरगन्जको मेयर र उपमेयरका लागि मुख्य राजनीतिक दलहरुको तर्फबाट कसैको पनि उम्मेदवारी नपरेको पौडेलले बताए ।
नेपाली काँग्रेस , नेकपा एमाले , जसपा , लोसपा , नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी पार्टी लगायतका मुख्य दलहरुले मनोनयनका लागि सोमबारको समय लिएको पौडेलले जानकारी दिए ।
वीरगन्ज महानगरमा छुटटा छुट्टै दुइ गठबन्धन गरेका प्रमुख दलहरुले मेयर , उपमेयर र वडा अध्यक्षका उम्मेदवारको अन्तिम टुङगो लगाउन नसकेका कारणले सोमबार मनोनयन दर्ता गराउने तयारी गरेका छन् ।

