Madhes Khabar
धर्म/संस्कृति

बारामा हुने मुस्लिम समुदायको `इज्तिमा´ मा विदेशीको सहभागिता रोक्न हिन्दू परिषदको माग

वीरगन्ज,९ वैशाख : विश्व हिन्दू परिषद् नेपालले बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ’इज्तिमा’ मा विदेशी नागरिकहरूको सहभागिताले राष्ट्रिय सुरक्षामा चुनौती थप्ने भन्दै त्यसमा कडाइ गर्न माग गरेको छ।

विश्व हिन्दू परिषद्ले बुधबार जिल्ला प्रशासन कार्यालय बारा र पर्सामा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै विशेषगरी तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश र सहभागिता रोक्न प्रशासनको ध्यानाकर्षण गराएको हो। बारामा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई परिषदले ज्ञापन पत्र बुझाएको हो।

आगामी वैशाख ११ देखि १४ गतेसम्म बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २४, हरपुरमा आयोजना हुन लागेको इज्तिमामा पाकिस्तान, बंगलादेश लगायतका देशहरूबाट सहभागीहरू आउने तयारी भइरहेको सूचना आएको भन्दै विश्व हिन्दु परिषद्ले आपत्ति जनाएको छ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “धार्मिक भेलाको आवरणमा छिमेकी राष्ट्र र अन्य तेस्रो मुलुकबाट अवैध रूपमा विदेशीहरू नेपाल भित्रिने र उनीहरू यहाँ लुकिछिपी बस्ने जोखिम छ। यस्ता विदेशी नागरिकहरूको सहभागिताले देशको सुरक्षा संयन्त्रलाई कमजोर पार्न सक्छ।“

विशेषगरी बंगलादेश र म्यानमारबाट आएका रोहिङ्ग्याहरू यस्ता कार्यक्रमको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना प्रति प्रशासन सचेत हुनुपर्ने परिषद्को ठहर छ।

नेपाल–भारत सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै परिषद्ले अवैध विदेशी घुसपैठ रोक्न र साम्प्रदायिक सद्भाव खलबलिन नदिन माग गरेको छ। “मित्रराष्ट्रका अवैध बासिन्दालाई नेपाली भूमि प्रयोग गर्न नदिने परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको हितमा विदेशी सहभागीहरूको कडाइका साथ छानबिन र नियन्त्रण गरिनुपर्छ,“ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

 

Related posts

वीरगन्जमापनि थारु समुदायले भोलि माघी समारोह आयोजना गर्दै

MadhesKhabar

राम जन्माेत्सवकाे उपलक्ष्यमा वीरगन्जको रामजानकी मन्दिरमा भाेलिदेखि २४ घण्टे अष्टयाम एंव धार्मिक अनुष्ठान

MadhesKhabar

छठ पर्व : आज खरना विधि गरिँदै

MadhesKhabar

Leave a Comment