वीरगन्ज,२७ फागुनःपर्साको पकहाँ मैनपुर गाँउपालिकाको नेकपा एमालेका गाँउपालिका कमिटी अध्यक्ष अकलेश साहले एमाले परित्याग गरेको घोषणा गरेका छन्् । उनिसंगै एमालेका गाँउपालिका कमिटी सचिव राजेश सहनी र जिल्ला कमिटी सदस्य प्रमोद पटेललेपनि एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले गाँउपालिका कमिटी अध्यक्ष साहले आजका मितिदेखि आँफुले पार्टीको साधरण सदस्यसमेत नरहने गरी एमाले परित्याग गरेको बताएका छन् ।
एमाले पार्टीमा विधि, पद्धति, सिद्धान्त र संगठनात्मक मूल्य–मान्यताभन्दा माथि नातावाद, कृपावाद, व्यक्तिवाद तथा आर्थिक चलखेलको संस्कृति तीव्र रूपमा मौलाउँदै गएको तथा पार्टीको मूल आदर्श, कार्यकर्ताको त्याग र योगदानलाई बेवास्ता गरिएकोले आँफुले एमाले पार्टी छाडेको बताएका छन् ।
साहले लेखेका छन् : म अकलेश कुमार साह, वीरगन्ज–पर्सा निवासी, वि.सं. २०७० सालदेखि नेकपा (एमाले) पार्टीमा सक्रिय रहँदै पकहा मैनपुर गाउँपालिका कमिटी अध्यक्ष तथा अखिल नेपाल पिछडावर्ग (इद्यऋ) महासंघको केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज लगायत विभिन्न जिम्मेवारीहरू इमानदारी, निष्ठा र समर्पणका साथ निर्वाह गर्दै आएको व्यक्ति हुँ। साथै मसँगै राजेश सहनी (गाउँपालिका कमिटी सचिव) र प्रमोद पटेल (जिल्ला कमिटी सदस्य) समेत पार्टीको विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका थियौं।
तर विगत केही समयदेखि पार्टीभित्र विधि, पद्धति, सिद्धान्त र संगठनात्मक मूल्य–मान्यताभन्दा माथि नातावाद, कृपावाद, व्यक्तिवाद तथा आर्थिक चलखेलको संस्कृति तीव्र रूपमा मौलाउँदै गएको देखिएको छ। पार्टीको मूल आदर्श, कार्यकर्ताको त्याग र योगदानलाई बेवास्ता गर्दै सीमित व्यक्तिहरूको स्वार्थ र गुटगत स्वार्थलाई प्राथमिकता दिइनु अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनीय विषय बनेको छ।
इमानदारीपूर्वक वर्षौंदेखि योगदान दिँदै आएका सच्चा कार्यकर्ताहरूलाई उपेक्षा गर्ने, निर्णय प्रक्रियामा पारदर्शिता नअपनाउने तथा संगठनलाई व्यक्तिगत स्वार्थको साधन बनाउने प्रवृत्तिले पार्टीको नैतिक आधारलाई गम्भीर रूपमा कमजोर बनाएको छ। यस्तो विकृत, अपारदर्शी र सिद्धान्तविहीन अभ्यासलाई मौन समर्थन गर्दै बस्नु मेरो राजनीतिक सिद्धान्त, नैतिकता र आत्मसम्मानसँग कदापि मेल खाँदैन।
यसरी पार्टीभित्र सुधारको कुनै स्पष्ट संकेत नदेखिएको तथा संगठनलाई गलत दिशामा लैजाने गतिविधि निरन्तर भइरहेकाले यस्तो वातावरणमा रहिरहनु उपयुक्त नठानी आजको मितिदेखि लागू हुने गरी नेकपा (एमाले) पार्टीसँग सम्बन्धित मेरा सम्पूर्ण जिम्मेवारीहरू तथा साधारण सदस्यताबाट समेत अलग हुँदै पार्टी परित्याग गरेको घोषणा गर्दछु। साथै मसँगै राजेश सहनी र प्रमोद पटेलले समेत पार्टी परित्याग गर्ने निर्णय गरेका छौं।आगामी दिनमा सत्य, पारदर्शिता, सामाजिक न्याय र जनताको हितका पक्षमा दृढतापूर्वक उभिँदै सामाजिक तथा राजनीतिक रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।

