
प्रमोद यादव
वीरगन्ज,१५ कात्तिकः परिवारले उपचार खर्च तिर्न नसक्दा एक पुरुषको शव तीन दिनदेखि अस्पतालको फ्रिजमा राखिएको छ ।
गत असोज १८ गते साँझ पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीमा पैदल हिडिरहेका बेला स्थानीय ५५ वर्षीय महेन्द्र राउत अहिरलाई बहुदरमाई –१ कै ध्यानसिंह पिपराका मन्देश साह तुरहाले हाँकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।वीरगन्ज–१४ गण्डकस्थित नेपाल मेडिसिटी बयोधा हस्पिटलमा उपचाररत उनको गत बिहीबार उपचारकै क्रममा मृत्यु भएको थियो ।
अहिरको उपचारमा लागेको कूल ९ लाख रुपैयाँ तिर्न नसक्दा अस्पतालले शव परिवारजनलाई नदिई अस्पतालकै फ्रिजमा राखेको मृतकका भतिजा रमेश यादवले बताए ।
उपचारका क्रममा अहिरको टाउकोको शल्यक्रिया गरिएको भएपनि उपचारका क्रममा गत बिहीबार साँझ उनको मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकलका चालक तुरहाले १ लाख ५० हजार र मृतकका परिवारजनले ५० हजार गरी हालसम्म दुई लाख मात्रै अस्पतालमा बुझाएका छन् । तथर उपचारमा लागेको करिब ९ लाख मध्ये अझै ७ लाख रुपैयाँ बाँकी रहेको र उक्त रकम तिर्न नसक्दा अस्पतालले शवव रोकेर राखेको मृतकका भतिज यादवले बताए।
मृतकका परिवारजनको आर्थिक अवस्था निकै कमजोर रहेकोले अस्पतालको खर्च तिर्न नसकेको उनले बताए । परिवारजनले मोटरसाइकल चालक तुरहालाई तत्काल पक्राउ गरी अस्पतालको उपचार खर्च तिराउन र क्षतिपूर्तिसमेत दिलाउन पहल गरिदिन प्रहरीसंग अनुरोधपनि गरेको यादवले बताए ।
ईलाका प्रहरी कार्यालय पोखरियाले ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेको र उनको खोजी कार्य तीब्र रुपमा भईरहेको जनाएको छ ।
अस्पतालका प्रशासन शाखाका विष्णु पटेलले भने अस्पतालले कानूनीरूपमा उपचार खर्च परिवारजनले बेहोर्ने गरी मन्जुरीनामा बनाइ सहीछाप भएपछि मात्र उपचार शुरू गरेको बताए । उपचार खर्च नतिर्दासम्म अस्पतालले शव फिर्ता नदिने उनले बताए ।मृतक अहिरका एक श्रीमती र एक अपांग छोरा छन् ।

