वीरगन्ज ,२६असार: पर्याप्त मनसुनी वर्षा नहुदा पर्सा जिल्लामा अझै धान रोपाइले गति लिन सकेको छैन। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले मंगलबारसम्म पर्सा जिल्लामा करिब १३ प्रतिशत खेतमा मात्र रोपाइँ हुन सकेको बताए ।
पर्सा जिल्लामा ४७ हजार १ सय १० हेक्टरमा रोपाइँ नै प्रभावित भएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसिया बताउँछन् ।
पर्सा जिल्लामा गत वर्ष ४७ हजार १ सय १० हेक्टरमा धान खेती भएकोमा यस वर्ष हालसम्म ३ हजार हेक्टरमा मात्र रोपाइँ भएको उनले बताए ।
‘असार सकिन लाग्दा पनि अझै मनसुनी वर्षा हुन सकेको छैन,’ उनले भने, ‘मंगलबार लामो अन्तरालपछि भएको वर्षाले पनि रोपाइँ गर्न पुग्ने गरी खेतमा पानी जमेको छैन, आज परेको पानीले किसानको धानको बेर्नालाई मात्र लाभ हुन्छ ।’ धेरै किसान केही दिनभित्रै मनसुनी वर्षा हुने आशमा छन् ।
पर्सा जिल्लामा हालसम्म रोपाइँ गरेकाहरुले पनि बोरिङ्ग, गण्डक नहर र कुलोको पानीबाट गरेका छन् । मनसुनी वर्षा ढिलो गरी भएमा जिल्लामा यस वर्ष रोपाइँ कम हुनुको साथै धान उत्पादन नै घट्न जाने चाैरसियाले बताए । गत वर्ष नै पर्सा जिल्लामा धानको उत्पादन घटेको थियो ।
कृषि ज्ञान केन्द्रकै तथ्यांक अनुसार, गत वर्ष पर्सा जिल्लामा ४७ हजार १ सय ३० हेक्टर जग्गामा प्रतिहेक्टर ४ दशमलव ७ मेट्रिक टनका दरले २ लाख २१ हजार ६ सय २७ टन धान उत्पादन भएको थियो ।
अघिल्लो वर्ष पर्सा जिल्लामा ४७ हजार १ सय ३० हेक्टर जग्गामा प्रतिहेक्टर ४ दशमलव ९४ टनको दरले २ लाख ३३ हजार १ सय १५ टन धान उत्पादन भएको थियो । तुलनात्मक रुपमा गत वर्ष ११ हजार ५ सय ८ टन धान कम उत्पादन भएको थियो । ढिलो गरी रोपाइँ हुनु तथा मलको अभाव र सिचाइँको अनिश्चितताको कारण जिल्लामा गत वर्ष धानको उत्पादन कम भएको थियो ।साभार:इकान्तिपुर

