वीरगन्ज, १५ वैशाख : त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मेन रोड (मुख्य सडक ) विस्तारको कामले तिब्रता पाएको छ । गत वैशाख ६ गते डोजर लगाएर भत्काइएको वीरगन्जको मेनरोडको दायाँ बायाँ २५ २५ मिटर सडक क्षेत्रको आज ( मंगलबार) देखि सडकको केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको छ ।
यसअघि सोमबार बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तारलाई थप स्पष्ट र प्रभावकारी बनाउन त्रिभुवन राजपथको आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी ती स्थानमा चिन्हो लगाएर स्टिलका किल्ला गाड्ने निर्णय गरेको थियो । महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला प्रशासन कार्यालय पर्सा, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए ।
गत वैशाख ६ गते मेनरोड विस्तारका क्रममा दायाँ बायाँ २५ २५ मिटर क्षेत्रभित्रका केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नभएकाले स्थानीयवासी अन्योलमा परेका थिए । ‘कहाँसम्म संरचना हटाउने ?’ भन्ने जिज्ञासा लामो समयदेखि उठ्दै आएको थियो ।
अब भने आधिकारिक नक्साका आधारमा केन्द्रविन्दु तय गरिने भएकाले सडकको दायाँ–बायाँ बराबर दूरी कायम गर्दै आवश्यक चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ । यसले विस्तार कार्यलाई थप पारदर्शी र विवादरहित बनाउने अपेक्षा गरिएको छ ।
नापजाँच कार्यका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराएको छ भने नक्सा तथा मापनसम्बन्धी काम नापी कार्यालय पर्साले गरिरहेको छ ।
सडक डिभिजन कार्यालयका इन्जिनियर भोला प्रसाद साहका अनुसार आज बिहानदेखि नै नापजाँच औपचारिक रूपमा सुरु गरिएको हो ।
यसका लागि सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्मका सम्पूर्ण चरणमा समन्वय गर्नेछ ।
यसअघि वैशाख ६ गते गण्डकदेखि भन्सारसम्मका क्षेत्रमा रहेका घर–टहरा हटाउन डोजर प्रयोग गरिएको थियो । अहिले केन्द्रविन्दु निर्धारणसँगै सडक विस्तार कार्यले थप गति लिएको छ ।साभार : अनलाइनखबर

