वीरगन्ज,१फाल्गुनःवीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले महानगरका वडा कार्यालयको सेवा प्रवाह अझ चुस्त र सहज बनाउन ३२ वटै वडा कार्यालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।मंगलबार महानगरपालिकाको सभाकक्षमा वडा सचिवहरुसंगको बैठकमा मेयर सिंहले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा उनले वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको काम विना कुनै झण्झट तत्काल गर्नपनि वडा सचिवहरुलाई निर्देशन दिए ।उनले वडा कार्यालयमा सुशासन कायम राख्न आग्रह गर्दै कार्यालय समय भित्र सबै कर्मचारी कार्यालयमा उपस्थित हुनुपर्ने अन्यथा कारबाहीको भागीदार बन्नुपर्ने चेतावनीससमेत दिए ।
महानगरमा विकास निर्माणका कार्यसंगै सेवा प्रवाह चुस्त र सहज बनाउने अभियानमा आँफु लागि परेको र यसमा कर्मचारीको तर्फबाट लापरबाही गरिएको भेटिए सह्य नहुने उनले बताए । अहिलेपनि केहि वडा कार्यालयमा कर्मचारीबाट सेवाग्राहीले अनावश्यक झण्झट खेप्नु परेको जनगुनासो आइरहेकाले यसतर्फ ध्ध्यान दिन वडा सचिवहरुलाई उनले सचेत पारे ।
वडा सचिवहरुलाई निर्देशन दिदैं मेयर सिंहले भने,‘ कर्मचारीहरुमा ईमान्दारिता र लगनशीलता भयो भनेमात्रै सुशासन कायम हुनसक्छ । तसर्थ तपाईहरुले सेवाग्राहीलाई पहिलो प्राथमिकतामा गर्नुपर्छ । अन्यथा जनगुनासो फेरिपनि आयो भने कारबाहीको भागीदार बन्नुहुनेछ ।
उक्त बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मात्रिकाप्रसाद भट्टराई ,महानगरले गठन गरेको सुशासन समितिका संयोजक प्रदीप चौरसिया, समितिका सदस्य, मेयरका प्रेस सल्लाहकार महेश दास लगायतकोपनि सहभागीता रहेको थियो ।

