Madhes Khabar
पर्यटन हेडलाइन

अंग्रेजी नयाँ वर्षमा पर्साको ठोरी भारतीय र स्वदेशी पर्यटकले भरिभराउ

वीरगन्ज,१७पुसःअंग्रेजी नयाँ वर्षको पहिलो दिन आज (बुधबार) मधेस प्रदेशकै मुख्य पर्यटकीय स्थल पर्साको ठोरी भारतीय र आन्तरिक पर्यटकले खचाखच भरिएको छ ।

ठोरीमा छिमेकी मुलुक भारतका साथै आन्तरिक पर्यटकको आगमन बढेको छ । ठोरी जंगल रिसोर्टका सञ्चालक धिर सिंहले अंग्रेजी नयाँ वर्षका अवसरमा भारतीय पर्यटकले ठोरीका होटल र रिसोर्टहरु खचाखच भरिएका बताए ।

“भारतीय पहुनाको आगमन बढेसँगै हामीलाई भ्याइनभ्याई छ”, उनले भने, “ठोरीका अधिकांश होटल र रिसोर्ट भरिएका छन् ।” पछिल्लो समय ठोरी बाह्रैमास व्यापार हुने पर्यटकीय गन्तव्य बनेको छ । भारतीय मात्र होइन, पर्सा आसपासका स्वदेशी पर्यटक पनि ठोरी आउने गरेका छन् । ठोरीमा राईधारा, सेतो पहाड, गोलेडाँडा, रातो पहाड, सिनेही पहाड, ‘स्टोनपार्क’, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबासलगायत करिब १ दर्जनको हाराहारीमा पर्यटकीयस्थल छन् । सुवर्णपुरमा मधेस प्रदेशकै पहिलो घरबास (होमस्टे) सञ्चालनमा छ भने तीनघरेमापनि होमस्टे सञ्चालनमा छ ।

ठोरी गाउँपालिका–२ स्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक जाने गरेका छन् । पर्यटकको आगमन बढेसँगै ठोरीमा होटल, रेष्टुरेन्ट र रेष्टुरेन्ट पनि खुुल्न थालेका छन् । हाल ठोरीमा ६ वटा स्तरीय होटल तथा रेष्टरेष्ट सञ्चालनमा छन् । ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको सङ्गमस्थल हो । वन्यजन्तु तथा वनस्पतिको अवलोकन गर्न प्रकृतिप्रेमी पर्यटक पनि त्यहाँ जाने गरेका छन् ।

भारतको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायत सहरबाटपनि पर्यटक ठोरी आउने गरेको पर्यटन तथा होटल व्यवसायी सिंहले बताए ।

औपचारिक रूपमा नेपाल आउने भारतीय पर्यटकको संख्या नगण्य छ । अध्यागमन कार्यालय वीरगन्जका अनुसार सन् २०२४ मा वीरगञ्ज नाकाबाट दुई हजार ८६ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा दुई हजार ४१ जना पर्यटक आएका थिए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगन्जका अध्यक्ष हरि पन्तले नयाँ वर्षमा वीरगन्ज बजार क्षेत्रका ५० भन्दा बढी होटलमा ६० प्रतिशतको हाराहारीमा अतिथि बस्ने गरेका छन् । ठोरीमा मात्र होइन, वीरगन्ज महानगरभित्र पर्ने सीमावर्ती रक्सौलसँगै जोडिएको शंकराचार्यद्वार, गहवामाई मन्दिर, घडीअर्वा पोखरी, पशुपतिनाथ मन्दिर,भिस्वा डाँडा,भुटनदेवी, विन्दवासिनीलगायत धार्मिकस्थलमा पनि भारतीय र स्वदेशी पर्यटक आउने गरेका छन् ।

महानगरबाट नजिक रहेको ऐतिहासिक पर्सागढीमा पनि स्वदेशी पर्यटक आउने गरेका छन् । पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले नयाँ वर्षमा पर्सागढीमा पनि उल्लेख्य मात्रामा आन्तरिक पर्यटक आउने गरेका बताए ।

उनले भने, “स्थानीय पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न जरुरी छ”, यही पुस १९ गते पर्सागढीमा दुई सय १०औँ विजय महोत्सव मनाइने भएकाले त्यसमा स्वदेशी पर्यटकको आगमन बढ्ने विश्वास उनले व्यक्त गरे ।रासस

Related posts

वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट हट्यो एसएसबीको चेकपोष्ट

MadhesKhabar

वीरगन्जलाई डुबानबाट जाेगाउन अतिक्रमण हटाएर मुख्य नालाकाे सरसफाइ गरिदैं

MadhesKhabar

भूमि आयोग पर्साको सक्रियतामा कार्य जारी

MadhesKhabar

Leave a Comment