Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जबासीलाई करकाे दायरामा ल्याउन महानगरले सुरु गर्‍याे अभियान,मेयर सिंह आँफै घरघर र पसलमा पुग्दै

वीरगन्ज,१४बैशाख:वीरगन्ज महानगरपालिकाले स्थानीय सरकारलाई तिर्नुपर्ने कर बारे नगरबासीलाई प्रेरित गर्न अभियान नै थालेकाे छ।महानगरलाई व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न नगरवासीलाई प्रेरित गर्ने उद्देश्यले आइतबारदेखि “समयमै कर तिरौं, जिम्मेवार नागरिक बनौं” भन्ने अभियान सुरु गरिएको हाे।

महानगरका मेयर राजेशमान सिंहको अगुवाइमा सुरु भएको अभियान अन्तर्गत पहिलो आइतबार घण्टाघर र लिंक रोड क्षेत्रमा मेयर सिंह आँफै उपमेयर इम्तियाज आलम,प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण कर्मचारीसहितकाे टोली लिएर पुगेका थिए।

राजश्व शाखाका प्रतिनिधि र स्वयंसेवकपनि सहभागी टोलीले घर र पसलहरुमा पुगेर स्थानीय सरकारलाई तिर्नुपर्ने करको जानकारी दिनुका साथै कर नतिर्नेहरूको सूची संकलन र समयमै कर तिर्न अनुरोध गरेका थिए।

 

वीरगन्ज महानगरलाई आर्थिक रूपमा सबल बनाउँदै नगर विकासलाई तीव्र बनाउनु नै अभियानको मुख्य उद्देश्य रहेको मेयर सिंहले बताए ।”सडक, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा पार्क र खेलमैदान जस्ता पूर्वाधार विकासका लागि आम्दानी वृद्धि अनिवार्य छ। कर तिर्ने संस्कारले मात्र हामी समृद्ध र सुन्दर वीरगंज बनाउन सक्छौं,” सिंहले भने ।

महानगरपालिकाले कर नतिर्ने वा लुकाउने व्यक्तिहरूमाथि कारबाही प्रक्रिया पनि अगाडि बढाउने तयारी गरेको उनले बताए।आवश्यक परेको खण्डमा जरिवाना तथा कानूनी कदम चाल्ने मेयर सिंहले बताए।
यसबाहेक, कर तिर्न सहज बनाउन महानगरमा छुट्टै सहायता कक्ष स्थापना गरेर कर सम्बन्धी परामर्श तथा सहयोग सेवा उपलब्ध गराइन सुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताए।अनलाइन मार्फत कर तिर्ने प्रणालीलाई समेत सुधार गरी थप प्रभावकारी बनाइने योजना रहेको उनले बताए।

महानगरपालिकाले स्थानीय सरकारलाई तिर्नुपर्ने करका बारेमा विभिन्न वडामा सचेतनामूलक गोष्ठी, पम्प्लेट वितरण, माइकिङ अभियान र स्थानीय एफएम रेडियो तथा अनलाइन प्लेटफर्ममार्फत प्रचार-प्रसार गर्ने तयारी पनि गरेको कर्णले जानकारी दिए।

मेयर सिंहले सबै व्यवसायी, घरधनी तथा नागरिकलाई समयमै कर तिर्न अनुरोध गर्दै, वीरगन्जको विकासमा सहभागी हुन आह्वानपनि गरे ।

Related posts

फाइनलमा नेपाल हार्याे, बंगलादेश बन्यो च्याम्पियन

MadhesKhabar

वीरगन्ज महानगरले एक वर्षमा उठायो ६१ करोड ४७ लाख राजश्व

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तार रोक्न सर्वोच्चमा दर्ता भएको नयाँ रिटमाथि आज हुने भनिएको पेसी सर्यो

MadhesKhabar

Leave a Comment