
मधेसखबर , वीरगंज भाद्र ५ गते :
नेपाल ब्युटिसियन सङ्घ पर्साको आयोजनामा सङ्घको २२ औं स्थापना दिवस र तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल ब्युटिसियन सङ्घ केन्द्रीय कोषाध्यक्ष उर्मिला थापाले ब्युटिसियन पेशा आजको दिनमा समाजका लागि गर्व गर्ने पेशा बनेको उल्लेख गर्दै विशेषगरी मधेस प्रदेशका महिलाहरूलाई घरको चारदिवारबाट बाहिर निस्केर आफ्नो पहिचान बनाउन ठूलो अवसर दिएको बताइन् ।
उनले भनिन् , “यो पेशाले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने मात्र नभई महिलाहरूलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन ठुलो योगदान गरेको छ । ”
“महिला नै महिलाको दुश्मन हुन्छ” भन्ने भनाइलाई पछाडि पार्दै ब्युटिसियन पेशामा महिलाहरू आपसमा एकजुट भएर अघि बढिरहेको देख्दा हर्षित भएको विचार धेरै वक्ताहरूले व्यक्त गरेका छन्।
यस पेशाबाट महिलाले समाज, परिवार र राष्ट्रकै गौरव बढाउन सक्ने पनि नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसाद शाहले धारणा राखे ।

महिलाहरूबीचको सहकार्य, आपसी एकता र सहयोगले यो पेशा अझ सुदृढ हुँदै गएको र यसबाट समाजमा सकारात्मक सन्देश गएको उधमी एव् व्यवसायी सज्जन अग्रवालले बताए ।
ब्युटिसियन पेशा केवल सौन्दर्यसँग मात्र सम्बन्धित नभई समाजमा महिलाको सम्मानित स्थान निर्माण गर्ने कुरामा समेत महत्वपूर्ण भएको शैलेजा फाउन्डेसनकी अध्यक्ष रुपा श्रेष्ठले उल्लेख गरीन् ।
उनका अनुसार, यो पेशाले अहिले देशभित्र मात्र नभई विदेशमा समेत नेपाली महिलाहरूलाई आफ्नो छुट्टै परिचय बनाउन मद्दत गरिरहेको छ ।

कार्यक्रमको सभापतित्व नेपाल ब्युटिसियन सङ्घ पर्साकी अध्यक्ष मन्दिरा राउतले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल ब्युटिसियन सङ्घ केन्द्रीय कोषाध्यक्ष उर्मिला थापाको उपस्थिति रहेको थियो । त्यसैगरी, विशिष्ट अतिथिहरूमा नेपाल ट्रेड युनियन कांग्रेस मधेस प्रदेशका निवर्तमान अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी, नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसाद शाह र शैलेजा फाउन्डेसनकी अध्यक्ष रुपा श्रेष्ठ, नेपाल ट्रेड युनियन अन्तर्गतको गार्मेन्ट संघ पर्साकी अध्यक्ष अन्जु महतोका साथै रानी जोन, सपना सिंह, उमधी एव् व्यवसायी सज्जन अग्रवाल, नागेन्द्रप्रसाद यादव, पुरण शाह कानु , पत्रकार माधुरी महतोको पनि सहभागिता रहेको थियो ।
नेपाल व्युटिसियन संघकी कोषाध्यक्ष कल्पना खड्का र संघकी उपाध्यक्ष रोजी प्रधानको सहजीकरणमा नेपाल व्युटिसियन संघकी सचिव राधा हमालले संचालन गरेको कार्यक्रममा ब्युटिसियन पेशासँग आबद्ध उद्यमी महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम विभिन्न सांस्कृतिक प्रस्तुति र तीजका गीत–नृत्यसहित उत्साहमय वातावरणमा सम्पन्न भएको थियो ।


