वीरगन्ज,२५साउन:पर्साको ठोरी गाउँपालिका–४ सुन्दरटोलमा भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुको पहिचान तथा व्यवस्थापनका लागि जग्गा नापजाँचकाे काम तिव्र गतिमा भइरहेको छ ।
भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, नापी कार्यालय पर्साका नापी अधिकृत राजकुमार विश्वकर्मा, वडा नम्बर ४ का वडाअध्यक्ष मानबहादुर थिङ, कार्यपालिका सदस्य देवीमाया दोङ लगायतको सहभागितामा आइतबार नापी कार्यको अनुगमन गरिएको छ ।
भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष अहमदका अनुसार आयोगले भूमिहिनलाई स्थायी बसोबासको व्यवस्था गराउन प्रतिबद्ध भएर काम गरिरहेको छ । उनले भने, “भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको पहिचान र नापजाँच कार्यलाई तीव्र बनाइएको छ । अब पहिचान भएकाहरूलाई जग्गा वितरणको प्रक्रिया छिट्टै अघि बढाइनेछ ।”
गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिकाको सहकार्यबिना यो अभियान सफल नहुने बताउँदै स्थानीय तहले आवश्यक सबै सहयोग पुर्याइरहेको जानकारी दिए । उनले भने, “भूमिहिन समस्या हाम्रो सामुदायिक चुनौती हो । यसलाई दीर्घकालीन समाधान दिन गाउँपालिका, आयोग र सम्बन्धित निकाय मिलेर काम गर्दैछौं ।”

