वीरगन्ज,०८कार्तिक :पर्साको पटेर्वा सुगौली गाँउपालिकाको कार्यालय नवनिर्मित आफ्नै भवनमा सञ्चालनमा ल्याइएको छ ।
विगत साढे ३ वर्षदेखि वडा नम्बर ४ दापासुगौैलीमा रहेको गुदरीबाबा मन्दिरको सामुदायिक भवनमा सञ्चालनमा रहेको गाँउपालिकाको कार्यालय सोमबारदेखि नवनिर्मित प्रशासनिक भवनमा सञ्चालनमा ल्याइएको हो ।
सोमबार हिन्दु धार्मिक रितिरिवाज अनुसार गाँउपालिका अध्यक्ष दिनेश चौधरीले नवनिर्मित तीन तल्ले प्रशासनिक भवनको पूजापाठ गरेपछि कार्यालयका दैनिक कामकाजपनि नयाँ भवनबाटै सञ्चालनमा ल्याइएको गाँउपालिका उपाध्यक्ष ममता महत्तो चौधरीले जानकारी दिइन् ।
वडा नम्बर ४ दापासुगौलीमै ६ करोड ९ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न ३ तल्ले प्रशासनीक कार्यालय निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए । २०८० फाल्गनुमा शिलान्यास गरिएको भवन निर्माणमा संघ सरकारको शहरी विकास मन्त्रालयको ६० प्रतिशत अर्थात करिब ३ करोड ६० लाख रुपैयाँ र गाँउपालिकाको कार्यालयको ४० प्रतिशत लागत रहेको उनले बताए ।
गाँउपालिका उपाध्यक्ष चौधरीका अनुसार, नवनिर्मित तीन तल्ले भवनमा २० वटा कोठा , दुई वटा सभाकक्ष , एउटा न्याययिक इजलाश , शौचालय लगायतका संरचना निर्माण गरिएको छ ।
साढे ३ वर्षदेखि मन्दिरको सामुदायिक भवनमा कार्यालय सञ्चालनमा रहदाँ सेवा प्रवाहमा समस्या रहेको सुनाउँदै उपाध्यक्ष चौधरीले अब भने नवनिर्मित आफ्नै सुविधासम्पन्न तीन तल्ले भवनबाट कार्यालयका प्रशासनिक र दैनिक कामकाज सञ्चालनमा धेरै सहजता आउने बताइन्। सेवाग्राहीलाई पनि सेवा लिन धेरै सहज हुने उनले बताइन् ।
सोमबार हिन्दु धार्मिक तिथी अनुसार नवनिर्मित प्रशासनीक भवनको पूजापाठ गरेर कार्यालय सञ्चालनमा ल्याइएनि भवनको औपचारिक उद्घाटन गर्न भने बाँकी नै रहेको गाँउपालिका अध्यक्ष चौधरीले बताए । उनले सम्भवत यहि मंसिर महिनाभित्रै भब्य कार्यक्रम आयोजना गरेर काभवनको औपचारिक उद्घाटन गरिने तयारीमा आँफुहरु रहेको उनले बताए ।
सोमबार भवनको पूजापाठ समारोहमा गाँउपालिका अध्यक्ष दिनेश चौधरी,उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडा नम्बर २ का वडाध्यक्ष विजय गैरे, विभिन्न शाखाका प्रमुख , कर्मचारी लगायतकाकोपनि सहभागिता थियो ।

