वीरगन्ज,२५पुसःवीरगन्ज महानगरपालिकाको कार्यालयले विद्यार्थीहरुसंग सरस्वती पूजाका लागि चन्दा वा शुल्क नउठाउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।
माघ ९ गते परेको सरस्वती पूजाका लागि निजी विद्यालयहरुले विद्यार्थीहरुले शुल्क र चन्दाका नाममा रकम उठाउन थालेको अभिभावकहरुको गुनासो आएपछि महानगरपालिकाले बिहीबार एक सूचना नै जारी गरेर त्यसो नगर्न निर्देशन दिएको हो ।
महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले सूचना जारी गर्दै सरस्वती पूजाको बहानामा विद्यार्थीहरुबाट कुनैपनि शुल्क वा चन्दा नउठाउन, उठाइरहेको भए तत्काल रोक्न र रकम लिइसकेको भए तत्काल फिर्ता गर्नपनि निर्देशन दिएका छन् ।
साथै महानगरपालिकाले विद्यालयहरुमा सरस्वती पुजाको नाममा चन्दा /शुल्क संकलन गरी विद्यालयमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम तथा विभिन्न गतिविधिहरू संचालन गर्ने गरेको पाइएकोले सरस्वती पूजाको अवसरमा गरिने सम्पुर्ण क्रियाकलापहरू मर्यादित, व्यवस्थित तथा शैक्षिक उद्देश्य अनुरूप सञ्चालन गर्न÷गराउनपनि अनुरोध गरेको छ ।

