Madhes Khabar
स्थानिय हेडलाइन

झाडापखाला र हैजाका बिरामीलाई बेड र स्वास्थ्यकर्मी निशुल्क उपलब्ध गराउने निजी अस्पतालहरूको प्रतिबद्धता

वीरगन्ज,९भदाैं: वीरगन्जमा झाडापखाला र हैजाको प्रकोप बढ्दै गएका बेला वीरगन्जका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। वीरगन्ज महानगरमा साेमबार बेलुकी बसेको छलफलका क्रममा निजी अस्पतालका सञ्चालकहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।
छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, महानगरकाे स्वास्थ्य शाखाका प्रतिनिधि तथा निजी अस्पतालका सञ्चालकहरू सहभागी थिए।
छलफलमा महानगरकाे मेयर राजेशमान सिंहले महामारी नियन्त्रणमा निजी स्वास्थ्य संस्थाको सक्रिय भूमिका अपरिहार्य हुने बताउँदै बिरामीलाई सहज उपचार उपलब्ध गराउन आग्रह गरे। उनले निजी अस्पतालमा पुग्ने बिरामीलाई पनि सहजै उपचार पाउने वातावरण बनाउनु पर्नेमा जोड दिँदै सम्भव भएसम्म निशुल्क सेवा उपलब्ध गराउन सकिए बिरामीहरूको पीडा न्यून हुने उल्लेख गरे।
छलफलमा प्रकोप नियन्त्रणका लागि तत्काल कदम चाल्ने, औषधि तथा शुद्ध पानीको आपूर्ति सुनिश्चित गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर प्रभावित क्षेत्रमा परिचालन गर्ने र सचेतना अभियानलाई तीव्र पार्ने सहमतिपनि गरिएको छ।
नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासले विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उपचार पद्धति अपनाए धेरै मात्रामा सहज हुने बताए। पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले महामारी नियन्त्रणमा सरकारी र निजी दुवै अस्पतालको समान जिम्मेवारी रहने उल्लेख गर्दै, आवश्यक नपर्दा पनि जबर्जस्ती आइसीयुमा बिरामी राखेर आर्थिक लाभ उठाउने गलत प्रवृत्ति रोक्न चेतावनी दिए।उनले औषधि उपलब्धता र गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै अन्य स्थानीय तहलाई पनि अग्रिम तयारीमा जुट्न निर्देशन दिए।
स्वास्थ्य विज्ञहरूले हाल हैजाका बिरामीहरूको संख्या क्रमशः घट्दो अवस्थामा रहेको भएपनि सबै पक्षको हातेमालो र सहकार्यबाट मात्र महामारी नियन्त्रण सम्भव हुने बताए।
यसैबीच, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले संक्रमणको स्रोत दुई दिनभित्र पत्ता लगाउने गरी नमुना संकलन, स्थलगत निरीक्षण लगायतका काम भइरहेको जानकारी दिए। उनका अनुसार प्रारम्भिक अध्ययनले यो संक्रमण प्रदूषित पानीमार्फत फैलिएको देखाए पनि कहाँ र कुन स्रोतबाट फैलिएको भन्नेबारेमा अझै पुष्टि नभएको र दुई दिनभित्र तथ्यांक संकलन र विश्लेषणपछि पत्ता लाग्ने बताए।

Related posts

सुकुम्बासीको नाममा वनको जग्गा अतिक्रमण गर्ने षड्यन्त्र सफल हुँदैन : मन्त्री यादव

MadhesKhabar

वीरगन्जका वरिष्ठ पत्रकार स्व. पाण्डेकाे ४५ ओैं पुण्यतिथिमा श्रद्धाञ्जली सभा

MadhesKhabar

वीरगन्जमा आजदेखि दिनभर निषेधाज्ञा, रातभर कर्फ्यू

MadhesKhabar

Leave a Comment