वीरगन्ज,१६साउनःवीरगन्जमा सञ्चालित प्लस टु कलेजहरूमा अध्ययनरत ३२ जना विद्यार्थीलाई प्याब्सन वीरगन्ज महानगर समितिले छात्रवृत्तिका लागि सिफारिस पत्र प्रदान गरेको छ ।
वीरगन्जमा शुक्रबार प्याब्सन वीरगन्ज महानगर समितिले आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी एंव वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्याब्सनले छात्रवृतिमा पढाउन छनौट गरेका विद्याथर्थीहरुलाई प्याब्सनका तर्फबाट छात्रवृति सिफारिसको पत्र प्रदान गरे ।
यसैगरि छात्रवृतिका लागि प्याब्सन वीरगन्ज महानगर समितिले लिएको परीक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूमध्ये आयुष सर्राफलाई ल्यापटप, सागर साहलाई आई ट्याब तथा सञ्जोग महतो, निराजन प्रसाद र रोशन गुप्तालाई कलेज पोशाक प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै मेयर सिंहले प्याब्सनले विद्यार्थीको हकमा गरेको यो काम प्रशंसनीय रहेको बताए । छात्रवृत्तिका यस्ता योजनाले अभिभावकको आर्थिक बोझ कम गर्नुका साथै मेधावी विद्यार्थीहरूलाई हौसला दिने काम गर्ने उनले बताए । उनले वीरगन्जमै गुणस्तरीय शिक्षाको व्यवस्था गरेर विद्यार्थीलाई राजधानी वा अन्यत्र जानुपर्ने प्रवृतिलाई क्रमशः अन्त्य गर्न सकिने बताए ।
प्याब्सन वीरगन्ज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई, प्याब्सनका सल्लाहकार मणि पाख्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरण प्रधान, सल्लाहकार शिवजी गुप्ता, एनप्याब्सनका महानगर अध्यक्ष जियालाल साह, प्याब्सन पर्साका सचिव अशोक संग्रौला, प्याब्सन महानगर सचिव अमित आलोक,सुलभ केसी लगायतकाकोपनि सहभागिता थियो।

