वीरगन्ज,१०साउनःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पानी वितरणमा विभेद नगर्न निर्देशन दिएका छन् ।
वीरगन्जमा दुई महिना यतादेखि चापाकलहरु सुकेर खानेपानीको संकट चुलिएको छ । पानी नपाएर यहाँको जनजीवन नै बिथोलिएको छ ।यस्तो विपद्मा बेलापनि सार्वजनिक डीप बोरिङका धाराबाट खानेपानीको आपूर्ति भइरहेका बेला केहि व्याक्तिले रकम लिएर पानी वितरण गरेको पाइएको छ ।
महानगरपालिकाले लगाएको डीप बोरिङमार्फत पानी वितरण भइरहेका बेला केही व्यक्तिहरूले सरकारी स्रोतलाई निजी रूपमा प्रयोग गर्दै प्रतिव्यक्ति ३ हजार रुपैयाँको दरले रकम उठाएर सिधै घरको ट्यांकीमा पानी आपूर्ति गरिरहेको पाइएको छ।
पैसा लिएर डीप बोरिङबाट पानी दिएको गुनासो आएपछि त्यसबारे सत्यतथ्य बुझ्न शनिबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह स्वयं विवादित स्थानमा पुगेर हस्तक्षेप गरेका छन् ।शनिबार बिहान वीरगन्ज–१५ मा पुगेर स्थानीयको गुनासो सुनेपछि मेयर सिंहले सबै नागरिकलाई समानरूपमा पानी उपलब्ध गराउनु पर्नेमा जोड दिँदै कुनै पनि हालतमा विभेद स्वीकार्य नहुने स्पष्ट पारे।
‘प्राकृतिक विपत्तिको बेला सबैको साझा सहकार्य आवश्यक हुन्छ। यस्तो अवस्थामा आफूखुसी ढंगले सार्वजनिक स्रोतको दुरुपयोग गर्नु गलत हो, मेयर सिंहले भने,‘कसैलेपनि पानीका लागि अनाधिकृत पैसा उठाएको भेटियो भने त्यो सह्य हुनेछैन ।’ उनले व्यक्तिगत स्वार्थमा नलागी सबै मिलेर समस्या समाधान गर्न आग्रह गरे।
मेयर सिंहसंगै विवादीत टोलमा पुगेका वीरगन्ज–१५ का वडाध्यक्ष रमेश यादवले पनि सर्वसाधारणलाई निष्पक्ष र समानरूपमा पानी वितरण सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता स्थानीयवासीसामु जनाए ।
महानगरका मेयर सिंहले शनिबार नै वीरगन्जको भेडियाही,इटियाही, नेशनल मेडिकल कलेज क्षेत्र लगायतका स्थानहरूमा पुगेर त्यहाँ भइरहेको पानी वितरणको अवस्थकोा पनि निरीक्षण गरे । निरीक्षणका क्रममा केही स्थानमा अझै पाइपलाइन विस्तार गरी पानी आपूर्ति आवश्यक देखिएकाले सम्बन्धित प्राविधिक तथा कर्मचारीहरूलाई तत्काल कार्यान्वयनका लागि उनले निर्देशनपनि दिए।
साथै, उनले अबदेखि पानी वितरणका विषयमा कुनै पनि विवाद सिर्जना नहोस् भन्ने ढंगले समन्वयात्मक र पारदर्शी ढंगले काम गर्न सबैलाई सचेतपनि गराए।
पछिल्लो समय वीरगन्ज क्षेत्रमा भू–जलको सतह लगातार घट्दै गएको छ ।जसका कारण विभिन्न स्थानमा खानेपानीको चरम अभाव देखिएपछि वीरगन्ज महानगरपालिकाले ठाँउ ठाँउमा डी बोरिङ गाड्नुका साथै ट्यांकी तथा ट्यांकरमार्फत ओसार पानी वितरण गर्दै आइरहेको छ ।

