वीरगन्ज,८पुसःवीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा पहिलो पटक नेपाल विद्यार्थी संघको अग्रसरतामा स्वतन्त्र विद्यार्थी युनियन गठन गरिएको छ ।
मंगलबार क्याम्पसमा नेविसंघद्धारा आयोजित विद्यार्थीहरुको भेलाले सुरज यादव अध्यक्ष रहने गरी ११ सदस्यीय स्ववियु गठन गरिएको हो । जसको उपाध्यक्षमा रञ्जन गुप्ता, सचिवमा आकाश कलवार, सह–सचिवमा प्रिन्स साह कानु र कोषाध्यक्षमा निभा कुमारी सर्राफ रहेका छन् । यस्तै सदस्यहरूमा इरशाद आलम, दिपेश ठाकुर, रामप्रवेश यादव, चन्दन शर्मा, सुदिप राज ठाकुर र मुस्कान पटेल रहेका छन् ।
उक्त भेलामा ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघको स्ववियु परिषदका केन्द्रीय अध्यक्ष राजकुमार यादवले हरिखेतान बहुमुखी क्याम्पसमा देखिएका विभिन्न समस्या र बेथितिप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले भने, “हरिखेतान बहुमुखी क्याम्पसमा भइरहेको बेथितीप्रति मेरो ध्यानाकर्षण भएको छ। यहाँ भइरहेका समस्याको तुरुन्त समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेको छु र समयमा समाधान पनि हुनेछ।”
यस्तै भेलाका प्रमुख अतिथि नेबिसंघका केन्द्रिय सदस्य. मुनराज तिवारीले विद्यार्थी हित, शैक्षिक गुणस्तर र क्याम्पस सुधारका लागि संगठित विद्यार्थी समुहको भूमिका आवश्यक रहेको उल्लेख गर्दै नवगठित युनियनलाई सक्रिय र जिम्मेवार भएर काम गर्न आग्रह गरे।
नवगठित युनियनका अध्यक्ष यादवले क्याम्पसमा देखिएका शैक्षिक, प्रशासनिक तथा विद्यार्थीसम्बन्धी समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

