वीरगन्ज,१३ भदौं : नेपाली कांग्रेसका महामन्त्री एंव पूर्वस्वास्थ्यमन्त्री गगन थापाले वीरगन्जमा हैजाको भ्याक्सिन लगाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार वीरगन्जका अस्पतालहरुमा पुगेर हैजा तथा झाडापखालाका बिरामीको अवस्था बुझेपछि थापाले त्यसपछि आयोजित सरोकारवालाहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।
‘हैजा विरुद्ध भ्याक्सिनको आवश्यकता भए म त्यसका लागि आवश्यक पहल गर्ने छु,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठन तथा संघीय स्वास्थ्य मन्त्रालयसँग तत्कालै समन्वय गरेर यहाँ भ्याक्सिन सञ्चालन गर्न आवश्यक पहल गर्ने छु ।’
कोरोनाकालमा संघीय सरकारले वीरगन्ज भन्सार परिसरमा निर्माण गरेको होल्डिङ सेन्टर प्रयोगमा ल्याउन आवश्यक देखिए आफूले त्यसका लागि पहल गर्ने थापाले प्रतिबद्धता जनाए । ‘यहाँ समुदायस्तरमै हैजा फैलिएर नारायणी अस्पतालले चाप थेग्न नसके यहाँस्थित होल्डिङ सेन्टर प्रयोगमा ल्याउन आवश्यक पहल गर्ने छु,’ उनले भने, ‘अस्पतालले झाडापखाला र हैजाका सबै बिरामीलाई निःशुल्क र गुणस्तरीय सेवा दिनु पर्छ ।’
थापाले नारायणी अस्पतालको ५ सय शय्याको भवन हालसम्म निर्माण हुन नसकेकोमा दुःख व्यक्त गर्दै प्राविधिक कारणले उक्त भवन निर्माणको काम अड्किएकोमा चिन्ता व्यक्त गरे । ‘हाम्रै दलका नेता स्वास्थ्य मन्त्री हुनुहुन्छ,’ उनले भने, ‘मैले प्रदीप पौडेल मन्त्री हुनुभएको पहिलो दिनमै नारायणी अस्पतालको भवन निर्माण कार्यलाई प्राथमिकतामा राख्न उहाँलाई सुझाव दिएको थिए ।’
थापाले नारायणी अस्पतालको सरसफाइ कार्यलाई प्राथमिकतामा राख्न अस्पताल व्यवस्थापनलाई सुझाव दिए । ‘म स्वास्थ्य मन्त्री हुँदा वीर अस्पतालको सरसफाइ गर्न नसकेको कुरा स्विकारेको छु,’ उनले भने, ‘हैजाको प्रकोप फैलिएको समयमा नारायणी अस्पतालको पनि सरसफाइ आवश्यक रहेको मैले देखे ।’ शंकर आचार्य/इकान्तिपुर

