
वीरगन्ज,५साउनःवीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आँफनै आत्मकथा लेखिएको किताब बेचेर अहिलेसम्म १६ करोड भन्दा बढी रकम जुटाएका छन् ।
दुई दशकदेखि बन्द वीरगन्ज कृषि औजार कारखाना पुन सञ्चालनका लागि आवश्यक रकम सरकारले सम्झौता गरेरपनि दिएन ।त्यसपछि आविष्कार केन्द्रका अध्यक्ष पुन आफैंले आफ्नो आत्मकथा लेखेर किताब बेच्न सुुरु गरे ।
हालसम्म ४३ जिल्लामा पुगेर किताब बेचेका पुनले किताब बिक्रीबाटै अहिलेसम्म १६ करोड ३५ लाख रुपैयाँ संकलन गरिसकेको जानकारी दिए । उनले हालसम्म २ लाख १८ हजार थान किताब बेचिसकेको बताए । उनका अनुसार एउटा किताबको मूल्य ७ सय ५० रुपैयाँ तोकिएको छ ।
२०८० पुसदेखि किताब बिक्री गर्न देश दौडाहा सुरु गरेका पुनले गत असारसम्म ४३ जिल्लामा पुगेर २ लाख १८ हजार थान किताब बिक्री गरिसकेको बताए । अब बाँकी रहेका ३४ जिल्लामापनि पुग्ने योजना रहेको उनले सुनाए ।
सोभियत संघ रुसको सहयोगमा विक्रम संवत २०२१ सालमा स्थापित सरकारी स्वामित्वको वीरगन्ज कृषि औजार कारखाना निरन्तर घाटामा गएको भन्दै सरकारले २०५९ सालमा पूर्णा रुपमा बन्द गरिदिएको थियो ।
दुई दशकदेखि बन्द उक्त कारखाना पुन चलाउनका लागि भन्दै संघ सरकारले २०७९ भदौं ३१ मा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गरेपछि आविष्कार केन्द्र र अर्थ मन्त्रालयबीच २०७९ असोज ११ गते सम्झौता भएको थियो । उक्त सम्झौतापत्रमा काारखानाको मर्मतसम्भार लगायतका कामका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले आविष्कार केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख थियो ।
कारखाना पुन सञ्चालनका लागि विकल्प सुझाउन कृषि मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा कारखाना मर्मतसम्भार गरी पुन सञ्चालनमा ल्याउनका लागि ३० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख गरिएको थियाोे ।
तर अर्थ मन्त्रालयले आावश्यक बजेट दिन चासो नै नलिएपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आवश्यक रकमको जोहो गर्न आँफै अगाडि सर्दै आफनो आत्मकथा लेखेको पुस्तक बेच्न २०८० पुषदेखि देश दौडाहा अभियान सुरु गरेका हुन् ।
केन्द्रले कारखानाको मर्मत सम्भार गरी पुन सञ्चालनमा ल्याइसकेको छ । कारखानामा हाल कृषि औजार र उपकरणहरु उत्पदान गरेर बिक्रीपनि गर्दै आइरहेको छ ।
फाइल तस्बिर ।

