वीरगन्ज,१७माघःवीरगन्ज नाका हुदैं चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ५७ करोड मूल्य बराबरका खाद्यान्न आयात भएको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको उक्त अवधिमा भने वीरगन्ज नाका हुदैं हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको गिरावट आएको छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए । जबकी गत आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो ।
चालु आवको ६ महिनामा पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकी गत आवको सोही अवधिमा भने ६ अर्ब ९ करोड मूल्यको धान आयात भएको थियो ।
चालु आवको ६ महिनामा ३ अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको ६ महिनामा १ अर्ब ६१ करोड मूल्य पर्ने चामल र ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

