वीरगन्ज,३१जेठःजिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको कार्यालयमा विगत डेढमहिनादेखि सञ्चालनमा ल्याएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै वीरगन्ज महानगरपालिकाको कार्यालयमा विगत डेढमहिनादेखि सञ्चालनमा ल्याएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन बन्द गरि असार १ गते अर्थात आइतबारदेखि उक्त सेवा फेरि जिल्ला प्रशासन कार्यालयबाटै सञ्चचालन गरिने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलद्वारा जारी सूचनामा भनिएको छ– वीरगन्ज महानगरपालिकाको कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशनबाट प्रवाह भइरहेको सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले व्यवस्थित रुपमा प्रभावकारी सेवा प्रवाहक गर्न वीरगन्ज महानगरपालिकाको कार्यालयमा रहेका २ वटा स्टेशनहरुलाई जिल्ला प्रशासन कार्यालय पर्सामै स्थापना गरी मिति २०८२/०३/०१ गतेदेखि लागू हुने गरी राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा प्रवाह गरिनेछ।’
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले नै जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चाप अत्याधिक भएपछि सेवाग्राहीको सहजता र सुविधालाई ध्यानमा राखेर गत बैशाख १४ गतेदेखि वीरगन्ज महानगरपालिकाको कार्यालय, पोखरीया नगरपालिकाको कार्यालय , ईलाका प्रशासन कार्यालय सुपौलीमा समेत राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन सञ्चालन गरेर सेवा दिदै आएको थियो ।