वीरगन्ज,२०जेठ :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विद्युत आपुर्ति सेवामा देखिएको समस्याको दीर्घकालिन समाधान गर्न उर्जामन्त्री दीपक खड्कासंग आग्रह गरेका छन् । मंगलबार उर्जा मन्त्रालयमै खानेपानीमन्त्री प्रदीप यादवसंगै पुगका मेयर सिंहले उर्जा मन्त्री खड्कालाई भेटेर विद्युत आपुर्ति सेवामा देखिएको समस्याको दीर्घकालिन समाधान गर्न माग गरेका हुन् ।
जेठको प्रचण्ड गर्मीमा तापक्रम ४० डिग्रि सेल्सियस पुगेको वीरगन्जसहित मधेस क्षेत्रमा दिनमा पटक पटक विद्युत आपुर्ति सेवा अवरुद्ध हुने र घण्टौसम्म अघोषित लोडसेडिङ हुदै आएकाले जनजीवन अस्तव्यस्त बनेको मेयर सिंहले मन्त्री खड्कालाई जानकारी गराए ।
पटक पटक विद्युत आपुर्ति सेवा अवरुद्ध हुदाँ अस्पतालमा बिरामीहरुको उपचार प्रभावित भएकोे, विद्यालयहरुमा पठनपाठनमा असर परेको,बालबालिका,बृद्धबृद्धा,गृृहिणी महिलाहरु सबैभन्दा बढी समस्यामा परेको, घरमा रहेका विद्युतीय उपकरण र सामग्रीहरु बिग्रिन थालेको, उद्योगहरु धराशायी हुदैं गएको भन्दै मेयर सिंहले उर्जामन्त्री खड्काको ध्यानाकर्षण गराए ।
तसर्थ जनताको दैनिक जीवनमा परिरहेको यस्तो गम्भीर असरको विषय सरकारको प्राथमिकतामा पर्न आवश्यक रहेको भन्दै मेयर सिंहले विद्युत आपुर्तिमा अहिले भइरहेको समस्याको दीर्घकालिन समाधान गर्न मन्त्री खड्कासंग आग्रह गरे । साथैं, अस्पताल,विद्यालय लगायतका अत्यावश्यक क्षेत्रहरुको स्थलगत निरीक्षण गरेर त्यहाँ ट्रान्सफर्मरको मर्मत वा पुनःस्थापना गर्न उनले मन्त्री खड्कासंग आग्रहपनि गरेका छन् ।
त्यसपछि मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरण मधेस प्रदेशको प्रादेशीक कार्यालयका प्रमुख मनोज यादवलाई फोन गरेर वीरगन्ज महानगर लगायतका क्षेत्रमा अहिले विद्यमान विद्युत आपुर्तिको समस्या समाधान गर्न निर्देशन दिएको भेटमा सहभागी मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए । मन्त्री खड्काले विशेषगरी अस्पताल ,शिक्षणसंस्था लगायतका क्षेत्रमा तत्कालै स्थलगत निरक्षिण गरेर त्यहाँ विद्युत आपुर्तिमा देखिएको समस्या समाधानका लागि काम थालि हाल्न यादवलाई निर्देशन दिएको घिमिरेले जानकारी दिए ।