बारा,३१बैशाखःप्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले आर्थिकरुपले विपन्न एक परिवारकी छोरीको विवाहका लागि आवश्यक सामग्री सहयोग गरेका छन् । बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी (भदई)की छोरीको विवाहमा हुने भोजका लागि पौडेलले सामग्री सहयोग गरेका हुन् । मुटु र क्षयरोगका बिरामी एंव आर्थिक रुपले विपन्न भदईको छोरीको बिहेका लागि पत्रकार पौडेलले २ सय ५० जनालाई खान पुग्ने सामग्री तथा बेहुला र बेहुलीको लागि कपडापनि सहयोग गरेका हुन् ।
बारागढी गाउँपालिकाका राजकिशोर चौधरीको सहजीकरणमा बुधबार बेहुलीको आमा असिया देवी र दाइ छोटेलाल सहनीलाई पौडेलले ती सामग्री हस्तान्तरण गरेका हुन् । ओम बिनायक ट्राभल्सका सञ्चालक समेत रहेका पत्रकार पौडेलले आर्थिक अभावका कारण कोहि पनि छोरीको विवाह खल्लो नहोस् भन्ने उद्देश्यले आफुले सक्दो सहयोग गरेको बताए। उनले अहिले समाजमा व्याप्त भड्किलो र खर्चिलो विवाहिक कार्यक्रमले आर्थिकरुपले विपन्न परिवारलाई गिजोलिरहेको बताउँदै विवाहलाई सरल, सहज र दाइजोमुक्त बनाउनुपर्नेमा जोड दिए ।
सामग्री पाएपछि खुसी व्यक्त गर्दै बेहुलीकी आमा असिया देवीले समाजमा यस्ता मनकारी व्यक्तिको उपस्थितले गरिब र असहाय पारिवारको छोरीको बिहेपनि सहज तरिकाले गर्न पाएको बताइन् ।

