
माधुरी महत्तो
वीरगन्ज , १० बैशाख :स्थानीय तहको निर्वाचनमा महिला सहभागीता शुन्य पार्न राजनीतिक दलहरु लागेको भन्दै त्यसको विरोधमा शनिवार वीरगन्जमा महिलाहरुले विरोध प्रदर्शन गरेका छन् ।
गठबन्धनको बहानमा कुनै पनि पदमा महिला उम्मेदवार नबनाउने षडयन्त्र दललहरुले गरेको भन्दै महिला नेतृत्वहरुले विरोध प्रदर्शन गरेका छन् ।नेपाली काँग्रेस , लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलका महिला नेतृ र कार्यकर्ताहरुले वीरगन्जमा शनिवार विरोध जुलुश निकालेर प्रदर्शन गरेका हुन् ।घण्टाघर चोकबाट नाराबाजी गर्दै शुरु भएको महिलाहरुको विरोध जुलुश नगरपरिक्रमा पछि पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो ।

जुलुशमा सहभागी महिला नेतृ र कार्यकर्ताहरुले संविधान अनुसार गठबन्धनको नाममा संविधान मिच्न पाइदैन , महिलाको सहभागीता सुनिश्चित गर जस्ता नारा लगाएका थिए ।कोणसभालाइ सम्बोधन गर्दै महिला नेतृहरुले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका नाममा दलहरु महिलाहरुको सहभागीता शुन्य पार्ने खेलमा लागेको आरोप लगाए ।संविधानमा स्थानीय तहको प्रमुख वा उप्रमुखका उम्मेदवार मध्ये एक जना महिला अनिवार्य हुनु पर्ने प्रावधान छ ।
तर अहिले सबै राजनीतिक दललले चुनावी गठबन्धन गरेर मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवारको नाम अगाडि सारिरहेकोले महिला माथि अन्याय भइरहेको उनिहरुले बताए ।कोणसभालाइ सम्बोधन गर्दै काँग्रेस नेतृत्व डाक्टर सुष्मा द्विवेदीले पर्सामा पालिकाहरुमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाइ उम्मेदवार नबनाउने चलखेल गरिरहेको बताइन् ।
यसले संविधानमा महिलाले पाएको हक पनि मिचिएको भन्दै यो महिलाका लागि दुर्भाग्य भएको उनले बताइन् ।

चुनावी गठबन्धनको आफुहरु विरोधी नभएको भन्दै उनले तर दलहरुले गठबन्धन गर्दा महिलालाइ नभइ पुरुषलाइ मात्रै उम्मेदवारमा अगाडि सारेको बताइन् ।वीरगन्ज महानरगको उपमेयरका लागि आंकाक्षी समेत रहेकी उनले वीरगन्ज महानगरको सन्दर्भमा पनि गठबन्धन गरेर दललेहरुले मेयर र उपमेयर दुवैमा पुरुषलाइ नै उम्मेदवार बनाउने चलखेल गरिरहेको बताइन् ।लोसपाकी नेतृ रम्भा मिश्रले गठबन्धनका नाममा सबै दलहरुले महिलालाइ पन्छयाएर पुरुषलाइ मात्र उमेद्वार बनाउने षडयन्त्र गरिरहेको बताइन् ।
उनले भनिन् ‘ यसअघिको चुनावमा उपमेयरमा जितेर महिलाहरुले आफनो कुशलता र सक्षमता प्रदर्शन गरिसकेका छन् , तर आउदो चुनावमा महिलाको सहभागीता शुन्यमा झार्ने प्रपन्च भइरहेको छ ।पुरुषलाइ मात्र उम्मेदवार बनाउदा संविधान पनि मिचिने भन्दै उनले तर राज्यले पनि संविधान मिच्नेहरुलाइ अंकुश नलगाएको गुनासो गरिन् ।मिश्राले भनिन्,‘ यदि महिलालाइ उम्मेदवार बनाइएन भने हामी सबै दलका महिलाहरु अझ कडा आन्दोलनमा उत्रिन्छौ , पार्टी कार्यालयहरुमा तालाबन्दी पनि गर्छौ ।
काँग्रेस नेतृ रुपा श्रेष्ठले ५० प्रतिशत भन्दा बढि महिला मतदाता भएपनि दलहरुले पुरुषलाइ मात्र उम्मेदवारमा अगाडि सारेर देशभरका महिलाहरु माथि अन्याय गरेको बताइन् ।उनले भनिन् ,‘ यदि गठबन्धनका नाममा दलहरुले पुरुषलाइ मात्रै उम्मेदवार बनाए भने कुनै पनि महिलाले भोट हाल्दैनन् , चुनाव बहिष्कार नै गर्नु पर्ने अवस्था आउछ , हाम्रो यो चेतावनी दलहरुले सुने हुन्छ ।

