हेटौंडा,५बैशाखः मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा शुक्रबार इलेक्ट्रीक माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको बागमती गाउँपालिका वडा नम्बर ७ की १३ वर्षीया मानुषी मगर र रौतहटको दुर्गा भवानी गाउँपालिका वडा नम्बर–५ की ५० वर्षीया निलमदेवी राउत रहेका छन् ।
काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१–००६ ख ७०७२ नम्बरको इभीको माइक्रो बस मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
माइक्रो बसका चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइते १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

