Madhes Khabar
समाचार

खानेपानी कार्यालय बाराका तत्कालीन निमित्त प्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा : डेढ करोड अवैध आर्जन गरेको आरोप

काठमाडौँ,१०वैशाख: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका निमित्त कार्यालय प्रमुख किशोरी प्रसाद यादवविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि आयोगले उनीमाथि भ्रष्टाचारको आरोप लगाएको हो ।

अख्तियारले यादवको सेवा प्रवेश मिति २०४७ असार ३१ देखि २०८० पुस २९ गतेसम्मको अवधिमा भएको आय–व्ययको सूक्ष्म अनुसन्धान गरेको थियो। सो अवधिमा यादव र उनको परिवारले कानुनी रूपमा ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ आम्दानी गरेको देखिएको छ। तर, सोही अवधिमा उनको जग्गा खरिद, घर निर्माण, सेयर लगानी र सवारी साधन लगायतका शीर्षकमा भएको खर्च भने ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ भेटिएको छ।

यसरी वैध आम्दानी र वास्तविक खर्चको तुलना गर्दा स्रोत नखुलेको १ करोड ४६ लाखभन्दा बढीको सम्पत्ति अवैध देखिएको आयोगको ठहर छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले पेस गरेको सम्पत्ति विवरण र उनको वास्तविक जीवनशैलीबिच अस्वाभाविक अन्तर देखिएको छ ।

अनुसन्धानका क्रममा यादवले गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउन आफ्नी श्रीमती निर्मला कुमारीको नाममा समेत लगानी गरेको भेटिएको छ। त्यसैले, अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले उनकी श्रीमतीलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।

आयोगले यादवमाथि बिगो बमोजिमको जरिवाना र जेल सजायको मागदाबी गरेको छ ।

Related posts

बाराको हरपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ चालकको मृत्यु

MadhesKhabar

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

MadhesKhabar

सिआईबीको असई भन्दै लाखौं ठग्ने महिला रौतहटमा पक्राउ

MadhesKhabar

Leave a Comment