Madhes Khabar
स्थानिय हेडलाइन

हरिखेतान क्याम्पसकाे भवनमा गाईगोठ र कबाडखाना : भवन निर्माणमापनि अनियमितता

वीरगन्ज,२९पुषः वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसको नवनिर्मित भवनमा व्यापक आर्थिक अनियमितता भएको क्याम्पस प्रमुखले नै आरोप लगाएका छन् ।

पुष १ गतेदेखि क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका किशोरी रायले वीरगन्ज ३ आदर्शटोलस्थित ८ कठ्ठा क्षेत्रफल जग्गामा निर्मित १० कोठाको एक तल्ले भवन निर्माणमा यसअघिका क्याम्पस प्रमुख डा. भगवान यादवले आर्थिक अनियमितता गरेको आरोप लगाएका हुन् ।आइतबार पत्रकार सम्मेलन नै गरेर निमित्त क्याम्पस प्रमुख रायले २ करोड ७४ लाख रुपैयाँमा निर्माण गरिएको नयाँ भवनमा अनिमियतता भएको आरोप लगाए ।

२०७६ सालमा सन्तोष निर्माण सेवाले ठेक्का सकारेर निर्माण गरेको भवनको आधा भन्दा बढी काम अधुरै रहेको भएपनि पूर्वक्याम्पस प्रमुख यादवले सम्बन्धित निर्माण कम्पनिलाई दुई वर्ष अघि नै सम्झौतामा उल्लेख सबै रकम भुक्तानी गरिसकेको भेटिएको बताए । यसबारेमा क्याम्पसका लेखा प्रमुख विनोद यादवसंग सोध्दा उनलेपनि सबै रकम ठेकेदारलाई भुक्तानी गरिसकेको मौखिक जवाफ दिएको रायले जानकारी दिए ।

रायले भने,‘ठेकेदारलाई सबै रकम भुक्तानी गरिसकिएको रहेछ । तर भवनको काम आधा भन्दा बढी अधुरै छ । पर्खाल उठाएर ढलान मात्र भएको छ । न प्लाष्टर भएको छ न रंगरोगन गरिएको छ । ढोका र झयालको पल्लापनि हालिएको छैन । वायरिङको कामपनि गरिएको छैन ।


प्रेमप्रकाश खेतान अध्यक्ष रहेको क्याम्पस सञ्चालक समितिको गत मंसिर ३० गते बसेको बैठकले यसअघिका क्याम्पस प्रमुख यादवलाई बर्खास्त गरेर पुष १ गतेदेखि निमित्त क्याम्पस प्रमुखमा रायलाई नियुक्त गरेको थियो ।

क्याम्पस प्रमुखको जिम्मेदवारी पाएपछि आँफुले नयाँ भवनमा कक्षा सञ्चालनका लागि आएर हेर्दा भवनको काम अधुरै रहेको देखेपछि भवन निर्माणबारे सोधीखोजी गर्र्दा भवन निर्माण बापतको पुरा रकम ठेकेदारलाई भुक्तानी गरिसकेको पत्ता लागेको रायले बताए ।


रायले भने,‘एक त आधा भन्दा बढी काम अधुरै छ । त्यसमापनि ढलानको बीमहरु बाङ्रगीएको अवस्थामा छ । यो संरचनाले पाँच तल्ला थेग्न सक्ने अवस्था नै नरहेको प्राविधिकलेपनि बताएका छन्।’

निर्माण कम्पनिसंग क्याम्पसले गरेको सम्झौतामा ठेक्का सम्झौता भएको दुईवर्षभित्रमा रंगरोगनसहित भवन निर्माणको काम सबै सकाएरमात्र क्याम्पसलाई भवन हस्तान्तरण गर्ने र भुक्तानी गर्ने उल्लेख रहेको रायले बताए ।

ठेकेदारलाई क्याम्पसले गरेको भुक्तानीसहितको अडिट रिपोर्ट आँफुले लेखा प्रमुख यादवसंग माग्दा उनले नदिएको गुनासोपनि रायले सुनाए । रायले भने,‘ आव २०७४/०७५ देखि आव २०७९/०८० सम्मको बैंक स्टेटमेन्टसहितको अडिट रिपोर्ट मैले लेखा प्रमुखसंग माग गरे । तर उनले पूर्वक्याम्पस प्रमुखलाई सबै कागजात दिइसकेकाले सबै उहाँसंग नै छ । मसंग केहि छैन भनेर अटेरी गरेका छन्।’

लेखा प्रमुख यादवले अबको दूई तीनभित्र ती कागजात उपलब्ध नगराए उनलाई निलम्बन गर्ने चेतावनीसमेत रायले दिए ।

विद्यार्थी पढ्ने क्याम्पसमा गाईगोठ र कबाडखाना

हरिखेतान क्याम्पसको अधुरो नवनिर्मित उक्त भवनमा अहिले स्थानीयले गाईगोठका रुपमा प्रयोग गरेका छन् । आइतबार बिहान उक्त भवनमा पुग्दा भवनभित्रको बरण्डालाई गाईगोठका रुपमा प्रयोग गरेको अवस्थामा भेटिएको हो ।

बरण्डा छेउको कोठामा गाई बाँधेर राखिएको छ भने बरण्डा परिसर गाईको गोबर र पिसाबले भरिएको छ ।

भवनका अन्य कोठाहरुमा बजारबाट संकलन गरिएका कबाड भण्डारण गरिएको छ । भवन छेउमा घर भएका एक स्थानीय बृद्धले भने,‘ हुन त यो कलेजको भवन हो तर लवारिस अवस्थामा छ । सोधीखोजी गर्ने कोहि नहुदाँ छरछिमेककाले गाइगोठ बनाएका छन् । एक कबाड ब्यपारीले एक वर्षदेखि कबाडी सामानहरु ल्याएर यसैमा जम्मा गरेर राखेका छन् ।


निमित्त क्याम्पस प्रमुख रायले भने अधुरो नवनिर्मित भवनमा राखिएका गाई र कबाडहरु हटाइने बताए । भवन निर्माणमा गरिएका अनियमितताको कानूनी रुपमा टुङ्गो लागेपछि अधुरो काम पुरा गरेर भवनमा कक्षा सञ्चालन गरिनेपनि उनले बताए ।

 

Related posts

सरावगी भन्छन् – जित्ने बित्तिक्कै ठगी मुद्धा हालेर ठेक्का पट्टाको बक्यौता असुल्छु

MadhesKhabar

वीरगन्ज नाकाबाट ७७ जना महिला र बालबालिकाको उद्धार

MadhesKhabar

नेवा देय् दबूद्वारा संचालित स्वास्थ्य शिविरमा ७४ जना महिलाले गराए जाँच

MadhesKhabar

Leave a Comment