
वीरगन्ज,३१साउनः भारतको दिल्लीमा मजदुरीको काम गर्दै आएका पर्साका एक युवकको मृत्यु भएको छ ।पर्साको छिपहरमाई गाँउपालिका वडा नम्बर १ भलुवहियाका २३ वर्षिय सत्येन्द्र यादवको दिल्लीस्थित निर्माणाधिन एक घरको चार तल्लाबाट खसेर मृत्यु भएको हो । तर उनका परिवारजनले भने मृत्यु शंकास्पद रहेको बताएका छन् ।
गत सोमबार चार तल्ले घरबाट खसेर गम्भिर घाइते भएका सत्येन्द्रको दिल्लीस्थित नोयडा सेक्टर ६२ मा रहेको फोरटिस हस्पिटलमा उपचारको क्रममा सोमबारनै मृत्यु भएको हो । उनको शव बुधबार भुलुवहियास्थित घरमा ल्याइएपछि गाउँ नै शोकमा डुबेको छ ।
ठेकेदार घनश्याम यादवका अनुसार मृतक सत्येन्द्र भारतको दिल्ली सेक्टर ५८ अमरउजाला टोलस्थित सोसाइटीको निर्माणधिन चार तल्ले भवनमा काम गर्ने क्रममा सोमबार दिउँसो २ बजेको समयमा खसेका थिए । त्यसपछि उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबारनै बेलुकी ७ बजे उनको मृत्यु भएको थियो ।
परिवारजनका अनुसार, सत्येन्द्र ३ महिना पहिले मजदुरीको लागि दिल्ली गएका थिए । मृतक सत्येन्द्रका १५ महिनाकी एक छोरी र पत्नि छन् ।साभार : कालिकाटाइम्स

