
मधेसखबर
वीरगन्ज,२४ बैशाख : पर्साको ठोरी गाँउपालिका १ भगवानपुरमा रहेको असहाय तथा वृद्धवृद्धा कल्याण समाज( आश्रम) लाई वीरगन्जका समाजिक संस्थाले खाद्यान्न र मेडिकल सामाग्री सहयोग गरेका छन् ।
वीरगन्जमा क्रियाशिल विभिन्न लायन्स क्लबहरुले शनिवार भगवानपुरमै पुगेर ती सामाग्री आश्रमलाइ सहयोग गरेका हुन् ।
लायन्स क्लब अफ वीरगन्ज संस्कृति गोल्ड , लायन्स क्लब अफ मिलेनियम , एमजेएफ र लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रललले समाजका संरक्षक आश बहादुर गुरुंगलाई २ थान व्हील चेयर , २ थान कमोड चेयर , दृष्टिबिहिनका लागि २ थान स्टिक (छडी) लगायतका मेडिकल सामाग्री हस्तान्तरण गरेका हुन् ।
यस्तै २ क्विन्टल चामल , ३० केजी दाल , १ बोरा आलु , १ बोरा प्याज , २० लिटर खानेतेल , चिनी , चियापती , बिस्कुट चाउचाउ , मसला , बेसार , नुन लगायतका खाद्यान्न पनि उनिहरुले प्रदान गरेका छन् । खाद्यान्न र मेडिकल गरि करीब ७० हजार रुपैया बराबरको सामाग्री समाजलाइ सहयोग गरिएको लायन्स क्लब अफ वीरगन्ज मिलेनियम एम जे अफका अध्यक्ष सुमन श्रेष्ठले बताए ।
आगामी दिनमा पनि आश्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्सका पुर्व अध्यक्षहरु रमेश अग्रवाल , पिवि शाह , लायन्स क्लब संस्कृति गोल्डकी प्रथम उपाध्यक्ष आयुषी तुल्स्यान , लायन्स क्लब सेन्ट्रलका अध्यक्ष कविता हालान, डि.एन .अग्रवाल लगायतले आश्रमले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भारतीय सैनिक सेवाबाट सेवा निवृत्त गुरुङले व्यक्तिगत पहलमा स्थापना गरेको असहाय समाज (आश्रम) मा हाल २७ जना असहायहरुले शरण लिईरहेका छन् । २०६८ सालमा स्थापना भएको उक्त आश्रममा दुइ जना दृष्टीबिहिन पनि छन् ।

