Madhes Khabar
समाज हेडलाइन

पर्साका मिटरब्याज पिडितहरुको दुखेसो : कर्जा तिरिसक्दा पनि साहुले घरखेत लिलाम गरायो


तस्बिर : जगत राई

वीरगन्ज,२असोजःपर्साको कालिकामाई गाउँपालिका–५ का ४५ वर्षीय विक्रम ठाकुरले गाउँकै साहु प्रमोद राउत बरैसँग २०७६ मंसिर १४ मा ३ लाख रुपैयाँ ऋण लिए । साहुले विक्रमकी पत्नी पुनम देवीसँग त्यसबापत १५ लाख रुपैयाँको कपाली तमसुक गराए ।

विक्रमले उक्त ३ लाख ऋणको हालसम्म साँवा र ब्याजबापत ७ लाख ३२ हजार रुपैयाँ साहुलाई बुझाइसकेका छन् । ३ लाखको ऋण लिँदा आफूले दिएको सादा चेकमा साहुले ९ लाख रुपैयाँ भरेर चेक बाउन्स गराई त्यसबापत आफ्नो ५ कट्ठा खेतसमेत लिलाम गराएको ठाकुर बताउँछन् । कपाली तमसुकबापत १ कट्ठा ६ धुर जग्गा पनि साहुले लिलाम गराइसकेको उनले बताए । बुवा अम्बिका ठाकुरको नामको १६ कट्ठा खेतसमेत साहुले रोक्का गराइराखेको उनले बताए ।

पर्साकै बिन्दवासिनी गाउँपालिकाका उमेश चौहानबाट दुई वर्षअघि ३ लाख रुपैयाँ ऋण लिएका वीरगन्ज महानगरपालिका–१८ सौराहाका लालबाबु यादवले त्यसको १५ दिनपछि बैंकबाट ऋण लिएर साँवा र ब्याजबापत ३ लाख १८ हजार रुपैयाँ चौहानलाई बुझाएका थिए । ऋण दिने बेला चौहानले ९ लाखको तमसुक गराएर खाली चेक लिएका थिए । तर, चौहानले ३० लाख रुपैयाँको चेक बाउन्स गराई आफ्नो बिचल्ली गराएको गुनासो यादवको छ ।

विक्रम र लालबाबुजस्ता थुप्रै मिटरब्याज पीडितहरूले मंगलबार वीरगन्जमा आयोजित मिटरब्याज समस्या तथा समाधानबारे अन्तरक्रिया कार्यक्रम एवं विचार गोष्ठीमा आफ्नो पीडा पोखे । साँवाभन्दा कैयौं गुना बढी ब्याज तिरिसक्दा पनि साहुले घरखेत नै लिलाम गराएको अधिकांशको गुनासो थियो ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन भोजपुरा कमाण्ड पर्साद्वारा आयोजित कार्यक्रममा पीडितको पीडा सुन्ने र सम्बन्धित निकायलाई त्यसबारे जानकारी गराएर विवादको निकास खोज्ने प्रयास गरिएको संस्थाका वीरगन्ज महानगर अध्यक्ष शम्भुप्रसाद यादवले बताए । ‘हाम्रो प्रयास तराईमा धमिराजस्तो गरिब निमुखालाई भित्रैभित्रै खाएको मिटरब्याजीको विकृति अन्त्य होस् भन्ने हो,’ उनले भने, ‘यसका लागि हामी पीडितको गुनासो संकलन गरी सम्बन्धित सरकारी निकायसमक्ष पु¥याएर समस्याको निकास निकाल्ने हरसम्भव प्रयास गर्ने छौं ।’

अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी हालसम्म २ हजार १ सय ४० उजुरी हेरिरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारती बताउँछन् । यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले २०८० वैशाखदेखि यस्ता उजुरी हेर्न थालेकामा संघीय सरकारको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले २०८० माघ १७ देखि सम्पूर्ण उजुरी प्रहरीकहाँ जिम्मा लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले प्रहरीलाई १ हजार ६ सय ६१ उजुरी जिम्मा लगाएकामा त्यसमा २ सय २० उजुरीको निर्णय भइसकेको र प्रहरीमै पनि ५ सय ४० नयाँ उजुरी दर्ता भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । यस अवधिमा दुवै पक्षलाई राखेर समस्या समाधान प्रयास सफल नभएपछि १३ उजुरीमा ११ जना पक्राउ परेका छन् । कुल उजुरीमध्ये ९ सय ३२ प्रहरीले र २ सय २० उजुरी प्रशासनले गरी १ हजार १ सय ५२ उजुरी छलफलबाट टुंग्याएको र मेलमिलाप हुन बाँकी १ हजार ३६ वटा उजुरी रहेको उनले बताए ।

जम्मा उजुरीमा साहुको ३३ करोड ४९ लाख ३० हजार रुपैयाँ माग दाबी रहेकामा पीडितले कानुनबमोजिम २० करोड ५४ लाख रुपैयाँ तिरिसकेका छन् । त्यसैगरी साहुबाट ऋणीलाई २२ बिघा ११ कट्ठा १२ धुर १३ कनवा जग्गा फिर्ता गराइएको छ । यस क्रममा अदालत र प्रहरी दुवैको निर्णय तथा प्रयासबाट ऋणीको रकम र जग्गा फिर्ता गराइएको उनले बताए ।

मुलुकी अपराध संहिता २०७४ मा संशोधन गरी अनुचित लेनदेनसम्बन्धी व्यवस्था थप गरिएको र त्यसै अनुसार कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरक्षिक भारती बताउँछन् । पर्सा प्रहरीले मधेस प्रदेशमै यस्ता मुद्दामा सबैभन्दा बढी काम गर्न सफलता पाएको उनले दाबी गरे । ‘यो मुद्दामा सफलताको सम्दर्भमा पर्सा प्रहरी प्रदेशमै अहिले १ नम्बरमा छ,’ उनले भने, ‘बाँकी उजुरीको हकमा पनि निकास दिने प्रयास जारी छ ।’ शंकर आचार्य÷कान्तिपुर

 

Related posts

परवानीपुरमा युवा संघद्वारा “एक युवा, पाँच बिरुवा“ भन्ने नाराका वृक्षारोपण अभियान सुरु

MadhesKhabar

बाराको बंगरी नदीको प्रदुषण रोक्न फेटाका युवाहरुले मुख्यमन्त्री सोनलको ध्यानाकर्षण गराए

MadhesKhabar

माओवादी नेता लाल बिहारीले २० जनाकाे माेतियाबिन्दुकाे निशुल्क शल्यक्रिया गराइ दिने

MadhesKhabar

Leave a Comment