Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज नाकाबाट इभी गाडीको आयात दोब्बरले बढ्यो

वीरगन्ज, १३ वैशाखःमुलुकको प्रमुख स्थल नाका वीरगन्जबाट चालु आर्थिक वर्षको चैतसम्म अर्थात ९ महिनामा विद्युतीय सवारी साधन (ईभी गाडी) को आयात उल्लेखनीय रूपमा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा सबै खाले विद्युतीय सवारीको आयात झण्डै दोब्बर पुगेको छ ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म वीरगन्ज नाका हुँदै १ अर्ब ४६ करोड रुपैयाँ बराबरको ४ सय ९३ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । जसबाट ९८ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ४८ करोड रुपैयाँ बराबरको १ सय ७२ थान जिप, कार, भ्यान आयात भएको थियो । जसबाट ४१ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको चैतसम्म ९६ करोड रुपैयाँ बराबरको ७ हजार ३ सय ९८ विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात भएको छ । जसबाट ३२ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ५५ करोड रुपैयाँ बराबरको ४ हजार २ सय २७ थान विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएको थियो । जसबाट १४ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

वीरगन्ज नाकाबाट विद्युतीय तीन पाङ्ग्रे सवारी (टेम्पो र रिक्सा) को आयात पनि बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको चैतसम्म यो नाका हुँदै ५३ करोड रुपैयाँ बराबरको ४ हजार ६ सय ६ थान यस्ता सवारी आयात भएका छन् । जसबाट १८ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड रुपैयाँ बराबरको ३ हजार ६ सय १३ थान यस्ता सवारी आयात भएका थिए । जसबाट १४ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

समग्रमा चालु आर्थिक वर्षको चैतसम्म २ अर्ब ९८ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन यो नाका हुँदै आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको यस्ता सवारी साधन आयात भएका थिए ।

वीरगन्ज उद्योग वाणिज्य संघका सहसचिव तथा विद्युतीय कार कम्पनी विक्रेता डिपलका सन्चालक अनुप अग्रवाल इन्धनको बढ्दो मूल्य र वातावरणमैत्री प्रविधिप्रति आकर्षण बढ्दै जाँदा विद्युतीय सवारीको माग तीव्र बनेको बताउँछन् । पूर्वाधार विस्तार, चार्जिङ स्टेसनको पहुँच र दीर्घकालीन नीतिगत स्थायित्व सुनिश्चित गर्न सके विद्युतीय सवारीको प्रयोग अझ बढ्ने उनको भनाई छ । शंकर आचार्य /कान्तिपुर

Related posts

घट्याे पेट्रोल र डिजेलको मूल्य

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघकाे अध्यक्षमा पटवारी निर्विराेध निर्वाचित

MadhesKhabar

रवि प्रबन्ध निर्देशक रहेकै बेला वीरगन्जको सहकारीबाट पनि गोर्खा मिडियामा साढे ८ करोड अपचलन

MadhesKhabar

Leave a Comment