वीरगन्ज ,११वैशाखःवीरगन्जको नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. मदन उपाध्यायलाई पठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बिहीबार ११ औं तहका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा हाल मन्त्रालयकाे परिवार कल्याण महाशाखाका प्रमुख रहेका डा. उपाध्यायलाई नारायणी अस्पतालकाे मेसुकाे जिम्मेवारी दिएर पठाउने निर्णय गरेकी हुन्।
यसअघि वैशाख ३ गते भने मन्त्रालयले मन्त्रालयकाे नीति योजना महाशाखामा कार्यरत डा.चुमनलाल दासको काज फिर्ता गरेर नारायणी अस्पतालकाे मेसुकाे जिम्मेवारी दिएर पठाउने निर्णय गरेको थियो । तर, उनलाई बिहीबारकाे मन्त्रीस्तरीय निर्णय अनुसार सार्क क्षयरोग केन्द्रमा पठाइएको छ । मन्त्रालयले डा. दासलाई यसअघि २०८१ असोज पहिलो साता पनि नारायणी अस्पतालको मेसुको जिम्मेवारी दिएर पठाएकाो थियो । झण्डै एक वर्ष मेसुको जिम्मेवारी सम्हालेका डा. दासलाई मन्त्रालयले काजमा सरुवा गरेर मन्त्रालयको नीति योजना महाशाखामा मन्त्रालयले पठाएको थियो ।
अब नारायणी अस्पतालमा आउन लागेका डाक्टर उपाध्यायले यसअघि पनि नारायणी अस्पतालकाे मेसुकाे जिम्मेवारी सम्हालि सकेका छन्।काेभिडकाे दाेस्राे महामारीका बेला उनि नारायणी अस्पतालकाे मेसुमा कार्यरत थिए।
बिहीबारको मन्त्रीस्तरीय निर्णय अनुसार, सार्क क्षयरोग केन्द्रका प्रमुख रहेका डा. अनुज भट्टचनलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा लगिएको छ ।यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा पठाइएको छ ।मन्त्रालयको प्रवक्ताको जिम्मेवारी भने यसोदा अर्याललाई दिइएको छ । यसअघि उनी तालिम केन्द्रबाट मन्त्रालयमा ल्याएर समन्वय महाशाखा प्रमुख बनाइएकी थिइन् । परिवार कल्याण महाशाखामा भने अहिलेसम्म कोही पठाइएको छैन । यसअघि नै स्वास्थ्य तालिम केन्द्रमा भने डा. प्रकाश साहलाई जिम्मेवारी दिइएको छ । यसअघि तालिम केन्द्रको निर्देशक यसोदा थिइन् ।
यसअघि २ वैशाखमा मन्त्री मेहताले पहिलो पटक स्वास्थ्यका उच्च अधिकारीका जिम्मेवारी हेरफेर गरेकी थिइन् ।त्यस क्रममा उनले नीति, योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी डा. गुणानिधि शर्मालाई दिएकी थिइन् । यस्तै, गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा. रोशन न्यौपाने पाएका थिए भने स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी यसोदा अर्याललाई दिइएको थियो ।
मन्त्रालयको महाशाखाको जिम्मेवारी फेरिनुअघि नीति, योजना तथा अनुगमन महाशाखाका डा. चुमनलाल र गुणस्तर मापन तथा नियमनमा डा. सरोज शर्मा र स्वास्थ्य समन्वयमा भीम सापकोटा थिए । डा. शर्मालाई वीरमा काज फिर्ता र सापकोटालाई हेटौडास्थित कीटजन्य प्रयोगशाला पठाइएको थियो ।

