वीरगन्ज ,२२चैत:एच.आई.भि. एड्स बारे सबैले सहकार्य सचेतना जगाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बुधबार वीरगन्जमा एड्स हेल्थ केयर फाउण्डेशन (ए.एच.एफ) नेपाले साझेदार संघ संस्था र सरकारी निकायका बिच आयोजना गरेको छलफलमा सहभागीहरुले सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउँदै नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिएका हुन् ।
एच.आई.भि. एड्सका बारेमा अझै पनि समाजमा सचेतना फैलाउनुपर्ने आवश्यक्ता भएकाे नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चितरन्जन साहले बताए । उनले भने, ‘समाज अझै पनि सङ्कुचित मानसिकताबाट ग्रसित छ, एच.आई.भि. एड्सका बारेमा खुलेर कुरा गर्ने अवस्था छैन । त्यसैले यसका क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी निकायले हातेमालो गर्दै काम गर्न आवश्यक छ ।’
ए.एच.एफ नेपालले वीरगन्ज तथा पर्सा जिल्लालाई कर्मथलो बनाएर काम गरेको ५ वर्षको अवधीमा धेरै परिवर्तन आएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहको बुझाई छ । साहले भने, ‘ए.एच.एफ नेपालसहित एड्सका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुकै कारण समाजमा केही हदसम्म परिवर्तन भएको कुरालाई नकार्न सकिन्न । आगामी दिनमा सबैले सहकार्य गर्दै अझै प्रभावकारी रुपमा काम गर्न जरुरी छ ।’
वीरगन्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख रितेश जैसवालले महानगरले पनि एच.आई.भि. तथा एड्सका क्षेत्रमा काम गरिरहेको जानकारी गराए । जैसवालकाअनुसार महानगरले यसकै लागि निश्चित बजेट पनि विनियोजन गर्दै आएको छ ।
स्वास्थ्य शाखाकै जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरका अनुसार महानगरले एच.आई.भि.एड्का लागि विनियोजन गर्ने बजेट खर्च हुन नसक्दा फ्रिज हुने गरेको छ । गत आर्थिक वर्षमा करिब २ लाख रकम विनियोजन गरेपनि मुस्किलले साढे ४ हजार मात्रै खर्च भएको र बाँकी रकम फ्रिज भएको ठाकुरले बताए । चालु आर्थिक वर्षमा पनि २ लाख रुपैयाँ बिनियोजन गरिएको हुँदा त्यसले संघ संस्थासँगको सहकार्यमा सचेतनामुलक कार्यक्रमदेखि अन्य काम गर्न सकिने ठाकुरको भनाई छ ।
नारायणी अस्पतालकी नर्सिङ् प्रशासक श्रुती साहले प्रसुती गृहमा काम गर्ने नर्सहरुका लागि सुरक्षा सावधानीका सामग्रीको अभाव रहेको बताइन् । प्रसुती गराउन आउने महिलाहरुले आफै खरिद गर्नुपर्ने हुँदा त्यसको व्यवस्थापन संघसंस्थामार्फत अस्पताललाई गराउन सके सेवाग्राहीलाई झन्झट नहुने साहको विश्वास छ ।
ए.एच.एफ. नेपालका बरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले संस्थाको उद्देश्य एवम् कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए । ५ वर्षसम्म संस्थाले गरेको कामको प्रभावकारितास्वरुप नै फेरी ५ वर्षसम्म काम गर्नका लागि नेपाल सरकारसँग सम्झौता भएको पनि उनले जानकारी गराए ।आगामी ५ वर्षसम्म एच.आई.भि. एड्सका क्षेत्रमा काम गर्ने संघ संस्था एवम् सरकारी निकायसँग सहकार्य तथा समन्वय गरेर समाजलाई सकारात्मक प्रतिफल दिने संस्थाको लक्ष्य रहेको पनि उनले प्रस्ट्याए ।
कार्यक्रममा नारायणी अस्पतालका बरिष्ठ कन्सलटेन्ट तथा छाला एवम् चर्म रोग विशेषज्ञ डा. अतुलेष चौरसिया, नारायणी अस्पतालकी ए.आर.टी. इन्चार्ज सरिता श्रेष्ठ, डा. प्रभाकर राज पाण्डे, बारा प्लसकी सल्लाहकार मनिता तामाङ्, विजाम पर्साका अनोज खड्का, ईपिक नेपालका प्रदेश संयोजक अजय कटुवाल, सहयात्री समाजका जटाशंकर प्रसाद साह लगायतको उपस्थिती रहेको ए.एच.एफ नेपालका पर्सा जिल्ला प्रतिनिधि आशिष गुरागाँईले जानकारी दिए ।

