Madhes Khabar
अर्थतन्‍त्र

नेपाल–भारत नाकाको भन्सारमा कडाइ गरेर जनतालाई दुःख नदिन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं, ९ वैशाखःराष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सीमा क्षेत्रमा (भन्सारमा ) सर्वसाधारणलाई दिइएको दुःख तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ।

भारतबाट ल्याइने १ सय रुपैयाँ भन्दा बढी मूल्यका घरायसी सामानमा पनि भन्सार नियम लगाएर जनतालाई सास्ती दिइएको भन्दै समितिले यस्तो कार्य तत्काल रोक्न सरकारलाई निर्देशन दिएको हो।

बुधबार बसेको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले सीमा क्षेत्रका नागरिकको दैनिक जीवनयापन र आधारभूत आवश्यकतालाई बेवास्ता गर्दै सरकारले भन्सारमा कडाइ गरेको बताए।

‘जनप्रतिनिधि हुनुको नाताले हामीले जनताको दैनिकी र आवश्यकता हेर्नुपर्छ,’ सभापति पौडेलले भने, ‘सीमा क्षेत्रका नागरिकहरूले आफ्नो जीविकोपार्जनका लागि भारतबाट केही सस्तोमा सामान ल्याएर गुजारा चलाउने गर्छन्। त्यसमा पनि सरकारले सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने व्यवस्था गरेर जनताको आधारभूत आवश्यकता र जीवनयापनलाई नै बेवास्ता गरेको छ।’

समितिको बैठकमा समिति सदस्यहरूले सीमा क्षेत्रमा भइरहेको यो समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका थिए।
सांसदहरूको सुझाव र रायका आधारमा समितिले सरकारलाई यस्तो अव्यवहारिक कार्य फिर्ता लिन र सीमा क्षेत्रका जनतालाई भन्सारको नाममा दिइने दुःख तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको सभापति पौडेलले जानकारी दिए।

Related posts

पर्साको ग्रामीण भेगबाट जाली नोटका दुइ कारोबारी पक्राउ

MadhesKhabar

रक्सौलमा अवरोधपछि वीरगन्जकाे ड्राइपाेर्ट नाकाबाट कोइला भित्रिन थाल्यो

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघकाे अध्यक्षमा पटवारी निर्विराेध निर्वाचित

MadhesKhabar

Leave a Comment