Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

रक्सौलमा अवरोधपछि वीरगन्जकाे ड्राइपाेर्ट नाकाबाट कोइला भित्रिन थाल्यो

वीरगन्ज,२६कार्तिक:वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेशनमा नेपाली आयातकर्ताको कोइला लगायतका डस्टी कार्गो लोडअनलोडमा रोक लागेपछि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह(ड्राइपाेर्ट) हुँदै कोइला बोकेको रेल्वे र्‍याक भित्रिने क्रम बढेको छ ।

अक्टोबर र नोभेम्बर महिनामा गरी ४ वटा कोइलाको रेल्वे र्‍याक सुक्खा बन्दरगाह नाका हुँदै भित्रिइसकेको छ । यसअघि जुलाई महिनामा पहिलो पटक एक रेल्वे र्‍याक कोइला सुक्खा बन्दरगाहमा भित्रिएको थियो ।

सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माका अनुसार हालसम्म ५ रेल्वे र्‍याक बन्दरगाह नाका हुँदै आयात भइसकेकोमा त्यसमध्ये २ वटा लतिका कमोडिटिज र ३ वटा शिवम सिमेन्टको रहेको छ । कोइला बोकेको अर्को एक रेल्वे र्‍याक भारतीय रेल्वे र्‍याकमै रहेको उनले बताए ।

केही नेपाली आयातकर्ताले अझै पनि भारतबाट ट्रकमै कोइला आयात गरिरहेको र यो तुलनात्मकरुपमा महगो विकल्प रहेको शर्मा दाबी गर्छन् । रेलबाट ढुवानी सस्तो र सहज भए पनि यसरी ट्रकबाट कोइला ढुवानी गर्नुको कारण नेपाली आयातकर्ताहरुको आ-आफ्नै निजी समस्या हुन सक्ने उनको बुझाई छ ।

एक रेल्वे र्‍याकमा ५५ बेगन हुन्छ । समग्रमा एक रेल्वे र्‍याकले ३ हजार ५ सय मेटन कोइला बोक्ने गर्छ । सामान्यतया रक्सौल रेल्वे स्टेशनमा मासिक २० रेल्वे र्‍याक कोइला आयात हुने गर्थ्यो । सबै कोइला प्रायः नेपाली आयातकर्ताकै हुने गर्छ ।

३० सेप्टेम्बरयता रक्सौल रेल्वे स्टेशनमा डस्टी कार्गो लोडअनलोड पूर्णरुपले बन्द छ । सन् २०१९ मा भारतको पटना हाइकोर्टले दिएको आदेशको अनुपालन नभएको भन्दै स्थानीयले पुनः पटना हाइकोर्टमा उजुरी दिएपछि पटना हाइकोर्टले पुनः आदेश दिएको हो । कोइला, जिप्सम, फ्लाइएस, स्ल्याग, क्लिंकर लगायतका वस्तु डस्टी कार्गोको श्रेणीमा पर्छन् ।

रक्सौल रेल्वे स्टेशन वरिपरिका बासिन्दाले गरेको विरोधको कारण करिब ४ वर्षअघि नै रक्सौल रेल्वे स्टेशनमा सिमेन्ट उद्योगको मुख्य कच्चा पदार्थ क्लिंकर लोडअनलोड बन्द भइसकेको छ । रक्सौल रेल्वे स्टेशनमा आउने डस्टी कार्गो शतप्रतिशतरुपमा नेपाली आयातकर्ताले आयात गर्ने गरेका छन् ।

कोइला सिमेन्टको प्रमुख औद्योगिक कच्चा पदार्थ मानिन्छ । यसबाहेक विभिन्न उद्योगमा इन्धनको रुपमा पनि कोइला प्रयोग गरिन्छ ।साभार:ईकान्तिपुरबाट

Related posts

मधेश प्रदेशका एक हजार भन्दा बढी मतदान स्थल अति संवेदनशील

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई वडाध्यक्ष कानुले खुवाए निःशुल्क भोजन

MadhesKhabar

आज गणतन्त्र दिवस

MadhesKhabar

Leave a Comment