वीरगन्ज,२६कार्तिक:वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेशनमा नेपाली आयातकर्ताको कोइला लगायतका डस्टी कार्गो लोडअनलोडमा रोक लागेपछि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह(ड्राइपाेर्ट) हुँदै कोइला बोकेको रेल्वे र्याक भित्रिने क्रम बढेको छ ।
अक्टोबर र नोभेम्बर महिनामा गरी ४ वटा कोइलाको रेल्वे र्याक सुक्खा बन्दरगाह नाका हुँदै भित्रिइसकेको छ । यसअघि जुलाई महिनामा पहिलो पटक एक रेल्वे र्याक कोइला सुक्खा बन्दरगाहमा भित्रिएको थियो ।
सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माका अनुसार हालसम्म ५ रेल्वे र्याक बन्दरगाह नाका हुँदै आयात भइसकेकोमा त्यसमध्ये २ वटा लतिका कमोडिटिज र ३ वटा शिवम सिमेन्टको रहेको छ । कोइला बोकेको अर्को एक रेल्वे र्याक भारतीय रेल्वे र्याकमै रहेको उनले बताए ।
केही नेपाली आयातकर्ताले अझै पनि भारतबाट ट्रकमै कोइला आयात गरिरहेको र यो तुलनात्मकरुपमा महगो विकल्प रहेको शर्मा दाबी गर्छन् । रेलबाट ढुवानी सस्तो र सहज भए पनि यसरी ट्रकबाट कोइला ढुवानी गर्नुको कारण नेपाली आयातकर्ताहरुको आ-आफ्नै निजी समस्या हुन सक्ने उनको बुझाई छ ।
एक रेल्वे र्याकमा ५५ बेगन हुन्छ । समग्रमा एक रेल्वे र्याकले ३ हजार ५ सय मेटन कोइला बोक्ने गर्छ । सामान्यतया रक्सौल रेल्वे स्टेशनमा मासिक २० रेल्वे र्याक कोइला आयात हुने गर्थ्यो । सबै कोइला प्रायः नेपाली आयातकर्ताकै हुने गर्छ ।
३० सेप्टेम्बरयता रक्सौल रेल्वे स्टेशनमा डस्टी कार्गो लोडअनलोड पूर्णरुपले बन्द छ । सन् २०१९ मा भारतको पटना हाइकोर्टले दिएको आदेशको अनुपालन नभएको भन्दै स्थानीयले पुनः पटना हाइकोर्टमा उजुरी दिएपछि पटना हाइकोर्टले पुनः आदेश दिएको हो । कोइला, जिप्सम, फ्लाइएस, स्ल्याग, क्लिंकर लगायतका वस्तु डस्टी कार्गोको श्रेणीमा पर्छन् ।
रक्सौल रेल्वे स्टेशन वरिपरिका बासिन्दाले गरेको विरोधको कारण करिब ४ वर्षअघि नै रक्सौल रेल्वे स्टेशनमा सिमेन्ट उद्योगको मुख्य कच्चा पदार्थ क्लिंकर लोडअनलोड बन्द भइसकेको छ । रक्सौल रेल्वे स्टेशनमा आउने डस्टी कार्गो शतप्रतिशतरुपमा नेपाली आयातकर्ताले आयात गर्ने गरेका छन् ।
कोइला सिमेन्टको प्रमुख औद्योगिक कच्चा पदार्थ मानिन्छ । यसबाहेक विभिन्न उद्योगमा इन्धनको रुपमा पनि कोइला प्रयोग गरिन्छ ।साभार:ईकान्तिपुरबाट