बारा, ८ वैशाखः वीरगन्जको मेनरोड विस्तारको काम सुरु गरिएससँगै हटौंडास्थित सडक डिभिजन कार्यालयले बाराको पथलैया–चुरियामाई सडकखण्डमा पनि सडक फराकिलो पार्ने तयारी गरेको छ । त्यसका लागि कार्यालयले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने पथलैयादेखि चुरियामाईसम्मको सडकको दायाँबायाँ २५ /२५ मिटर क्षेत्र खाली गर्न सूचना जारी गरेको छ ।
कार्यालयले यसअघि पटक–पटक सूचना जारी गरिए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै वैशाख १० गतेभित्र सडकको दायाँबायाँ २५/ २५ मिटर क्षेत्रमा रहेका सबै संरचना खाली गर्न अर्को सूचना जारी गरेको हो । उक्त समयसीमा भित्र सडक क्षेत्र खाली नभए वीरगन्जमा जस्तै डोजर चलाउने संकेत सडक डिभिजन कार्यालय हेटौंडाले गरेको छ ।
सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा अनधिकृत संरचनाहरू नहटाइएमा सार्वजनिक सडक ऐन २०३१ र प्रचलित नेपाल कानुन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
सडक डिभिजनको सूचनासँगै अमलेखगञ्ज, तीन नम्बर पुल र चुरियामाईमा सडकको २५ /२५ मिटर दायाँबायाँको क्षेत्र खाली हुने देखिएको छ । उक्त सडक खाली भएपछि पथलैया–हेटौंडा सडकखण्डमा सडक निर्माणको काम अघि बढ्नेछ ।

