
माधुरी महत्तो
वीरगन्ज,१२ जेठ : वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले वर्षाैदेखि जीर्ण रहेको घण्टाघरदेखि माइस्थान चोक सम्मको मुख्य सडक मर्मत गर्ने पहिलो निर्णय गरेका छन् ।
बिहीबार बेलुकी महानगरपालिका कार्यालयको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरे लगत्तै घण्टाघरदेखि माइस्थान चोक सम्मको मुख्य सडक मर्मत गर्ने पहिलो निर्णय गरेका हुन् । वर्षाैँदेखि मर्मत सम्भार नहुँदा सास्ती खेपीरहेका नगरबासीलाई परिवर्तनको प्रत्याभुती दिलाउन सिंहले जीर्ण बनेको मुख्य सडक मर्मत गर्ने निर्णय गरेका हुन् ।
मेयर सिंहले महानगरभित्र बसोबास गर्ने १० हजार ९ सय २४ घरधुरीको घरेलु मिटर (ग्राहस्थ मिटर) मा हुने मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्युनतम शूल्क र इनर्जी शूल्क महानगरले नै भुक्तानी गर्ने निर्णय पनि गरेका छन् ।
पाँच दलीय गठबन्धनले जारी गरेको चुनावी घोषणा पत्रमा उल्लेख भएबमोजिम बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल महानगरले नै अब भुक्तानी गर्ने भएको हो । यद्दपी, ३० युनिटभन्दा बढी खपत गर्ने सेवाग्राहीले सम्पूर्ण शूल्क आफै तिनुपर्ने हुन्छ । योजना ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राहीको लागि मात्र भएको निर्णयमा स्पष्टसँग खुलाईएको छ ।
यस्तै मेयर सिंहले महानगरभित्र रहेका ४ सय ७० वटा कृषि मिटर (सिँचाई मिटर) को सम्पूर्ण शूल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिने निर्णय गरेका छन् । कृषकहरुको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरुलाई प्रतोसाहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए ।घरेलु र कृषि बाहेक व्यवसायिक, मनोरन्जनात्मक र अन्य प्रायोजनका लागि मिटर लिएकाहरु भने उक्त योजनाबाट लाभान्वित हुने छैनन् ।
सपथ ग्रहण गरेको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धताअनुरुप नगरबासीले अब विद्युत महशुल र सिँचाई मिटरको शूल्क तिर्न नपर्ने भएको छ । यद्यपी यि सबै निर्णय आगामी साउन १ गतेदेखि मात्रै कार्यन्वयन हुने जनाईएको छ ।