Madhes Khabar
समाचार

जसपाबाट मेयरको उम्मेदवार राजेशमान पक्का,उपेन्द्र पनि वीरगन्ज आउदै

क्रान्ति शाह
वीरगन्ज , ११ बैशाख :
जनता समाजवादी पार्टी (जसपा) ले वीरगन्ज महानगरमा मेयरको उम्मेदवार राजेशमान सिंहलाइ नै बनाउने औपचारिक निर्णय गरेको छ ।
जसपाको वीरगन्ज महानगर समिति र जिल्ला कार्य समितिले वीरगन्जको मेयरको उम्मेदवारमा सिंहको एकल नाम केन्द्रमा सिफारिस गरेको थियो ।
त्यहि सिफारिसलाइ काठमाण्डौमा आइतवार बसेको जसपाको केन्द्रिय कार्य समितिले अनुमोदन गर्दै सिंहलाइ मेयरको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको पर्साका सांसद प्रदीप यादवले जानकारी दिए ।
केन्द्रले निर्णय गरेसंगै अब सोमबार सिंहले सत्तागठबन्धनका तर्फबाट वीरगन्जको मेयरमा मनोनयन दर्ता गर्नेछन् ।
सत्तागठबन्धनले केन्द्रमा गरेको सहमति अनुसार वीरगन्जको मेयर जसपाले पाएको छ भने उपमेयर काँग्रेसको भागमा परेको छ ।
सोमवार वीरगन्जको मेयरमा सिंहको मनोनयन दर्ता गराउनका लागि जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पनि वीरगन्ज आउने भएका छन् ।
राष्ट्रिय अध्यक्ष यादवकै उपस्थितीमा सिंहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मेयरको मनोनयन दर्ता गराउने कार्यक्रम गरेको सांसद यादवले जानकारी दिए ।
मेयरका उम्मेदवार सिंहले मनोनयन दर्ता गर्न पार्टीका केन्द्रिय अध्यक्ष यादव नै आउदा आफुहरुलाइ अझ हौसला थपिएको प्रतिक्तिया दिए ।
स्थानीय तह निर्वाचनका लागि मनोनयन गर्ने पहिलो दिन आइतवार भने वीरगन्ज महानगरको मेयर पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् ।
पहिलो दिन आइतवार नेपाल सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट १÷१ गरि दुइ जनाले र स्वतन्त्रबाट १० जनाले गरि कूल १२ जनाले मनोननयन दर्ता गराएको महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
यस्तै वीरगन्जको उपमेयर पदका लागि भनेपनि पहिलो दिन आइतवार कसैको पनि उम्मेदवारी परेको छैन ।
मनोनयन दर्ताका लागि पहिलो दिन आइतवार वीरगन्जको मेयर र उपमेयरका लागि मुख्य राजनीतिक दलहरुको तर्फबाट कसैको पनि उम्मेदवारी नपरेको पौडेलले बताए ।
नेपाली काँग्रेस , नेकपा एमाले , जसपा , लोसपा , नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी पार्टी लगायतका मुख्य दलहरुले मनोनयनका लागि सोमबारको समय लिएको पौडेलले जानकारी दिए ।

Related posts

भारत सरकारले अनुमति नदिएपछि जनकपुरबाट अयाेध्या जाने विशेष रेल रद्द

MadhesKhabar

पर्सामा १६८ किलाे गाँजा र बाेलेराेसहित दुई जना सशस्त्र प्रहरीको फन्दामा

MadhesKhabar

बारामा करेन्ट लागेर चार वर्षिया बालिकाको मृत्यु

MadhesKhabar

Leave a Comment