Madhes Khabar
समाचार

वीरगन्ज कारागारमा लागूऔषध मुद्दाका मात्रै ५ सय १२ कैदीबन्दी

वीरगन्ज,१०असोजःवीरगन्ज कारागारमा लागूऔषध मुद्दाका मात्रै ३० प्रतिशत कैदीबन्दी रहेका छन् । कारागारमा हाल कूल १ हजार ४ सय १२ कैदीबन्दी रहेकोमा तीमध्ये ५ सय १२ कैदीबन्दी लागूऔषध मुद्दाकै हुन् ।

तीमध्ये डेढ दर्जन महिला छन् । वीरगन्ज कारागार कार्यालयको तथ्यांक अनुसार, कारागारमा हाल लागूऔषध मुद्दाका ५ सय १२ कैदीबन्दी छन् भने त्यसपछि सबैभन्दा बढी कैदीबन्दी भएको मुद्दा कर्त्तव्य ज्यान हो ।

कर्तव्य ज्यान मुद्दाका २ सय ६८ कैदीबन्दी हाल कारागारमा छन् । त्यसैगरी, जबरजस्ती करणी मुद्दाका १ सय ९९, सवारी ज्यान मुद्दाका ७०, चोरीका ६२, अहपरणका ३७, बैंकिङ कसुरका ३१ कैदीबन्दी कारागारमा रहेका छन् ।

यसबाहेक ज्यान मार्ने उद्योग मुद्दाका २६, खोटा चलन मुद्दाका २१, डाँकाका २१, मानव बेचबिखनका २०, चेक अनादरका ४ कैदीबन्दी कारागारमा छन् । लागूऔषध ढुवानी तथा तस्करीका लागि वीरगन्ज तथा यसको छेउछाउको ग्रामीण भेगका नाकाहरु मुलुककै मुख्य नाका मानिन्छन् ।

मुलुकको सर्वाधिक आयात निर्यात हुने नाका लागूऔषध ढुवानीको परम्परागत ट्रान्जिटको रुपमा बदनाम छ । भारतमा प्रतिबन्धित नभएका तर नेपालमा प्रतिबन्धित नुरफिन, फेनारगन, डाइजेपाम जस्ता औषधि बोकेर आउनेहरु प्राय जसो वीरगन्ज तथा छेउछाउका नाकाहरुबाट पक्राउ परिरहेका हुन्छन् । प्रतिबन्धित यी औषधि नेपालमा नियन्त्रित लागूऔषध भनिन्छ ।

यस्ता औषधिको ढुवानीकर्ताहरु प्रायः केही अवधिको जेल सजाय काट्छन् । तैपनि निरुत्साहित हुदैनन् । कारोबारीहरुले यो नाकाबाट भित्र्याउने लागूऔषध बिभिन्न जिल्ला हुँदै राजधानी काठमाडौंसम्म पनि पु¥याउँछन् ।

दैनिक जसो वीरगन्जबाट पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्किने दुर्व्यसनीहरु प्रशस्त हुन्छन् । यसरी भारतमै लागूऔषध सेवन गरेर फर्कनेहरुले पनि लागूऔषध बोकेर ल्याउँछन् । कतिपयले यसरी ल्याउने लागूऔषध बिक्री समेत गर्छन् । पक्राउ पर्ने अधिकांशमा १८ देखि २४ बर्ष उमेर समूहका युवा हुन्छन् ।तीमध्ये पनि अधिकांश पर्सा भन्दा बाहिरी जिल्लाका हुन्छन् । नेपालमा नियन्त्रित लागूऔषध भनिने औषधिहरु सीमावर्ती भारतीय सहर रक्सौलका औषधि पसलहरुमा खुलेआम बिक्री हुन्छन् ।

पर्सा जिल्लामा हाल लागूऔषध गाँजाको खेती नगन्य मात्रामा रहेको तर छिमेकी जिल्ला मकवानपुरको बिकट पहाडी गाउँहरुमा अझै पनि गाँजा खेती भइरहेकाले कारोबारीले त्यहाँबाट गाँजा ल्याई पर्साको बाटोबाट भारतसम्म लग्ने गरेका छन् । बेला बेलामा नेपालबाट भारत फर्कने मालबाहक सवारी साधन, इन्धन बोक्ने ट्यांकर आदिबाट पनि गाजा बरामद हुने गरेको छ ।

वीरगन्ज कारागार कार्यालयका शाखा एवं सूचना अधिकृत बिनय कुमार श्रीवास्तव भारतसंगको खुल्ला नाका भएको कारण लागूऔषध कारोबारीहरुले वीरगन्ज नाका बढी प्रयोग गर्ने गरेको र त्यसै क्रममा पर्सामा दैनिक जसो लागूऔषध ढुवानीकर्ताहरु पक्राउ पर्ने गरेको हुन सक्ने बताउँछन् । साथै छिमेकी जिल्ला बारामा कारागार नरहेकाले त्यहाँ पक्राउ पर्ने लागूऔषध लगायत अन्य मुद्दाका आरोपी तथा अभिययुक्तहरु पनि वीरगन्ज कारागार पठाइने गरिएकाले पनि यो कारागारमा समग्रमै कैदीबन्दीको संख्या बढी रहने गरेको उनले बताए ।

कारागारमा लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरी रहेकाहरुमध्ये पनि अधिकांश युवा उमेर समूहकै रहेको श्रीवास्तव बताउँछन् । ’लागूऔषध मुद्दामा कैद भुक्तान गरी रहेकाहरु मध्ये पनि झण्डै ६० प्रतिशत युवा उमेर समूहका छन्,’ उनले भने, ‘यो भने विकराल अवस्था हो, युवा पुस्तामा लागूऔषधधको कुलत नराम्रोसंग बढ्दो छ ।’शंकर आचार्य/कान्तिपुर

 

Related posts

पर्साको १४ मध्ये १३ पालिकाको उपप्रमुखमा पनि नयाँ अनुहार

MadhesKhabar

महिलालाइ यौन दुर्व्यवहार गरेको आरोपमा रेडक्रसकर्मी पक्राउ

MadhesKhabar

बारामा १० लाख बढी रकमसहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment