Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा करोडौंको लगानीमा निर्माणाधिन प्लास्टिक फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा

वीरगन्ज,२७फागुनःवीरगंज महानगरपालिका वडा नम्बर १६ मा अवस्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्लाष्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।
वीरगन्ज महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिकजन्य फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यसहित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै उक्त प्लान्ट निर्माण भइरहेको हो ।

महानगरपालिकाका कार्यालयको वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रा.लि.को करिब चार करोड रुपैयाँको लगानीमा उक्त प्लान्ट निर्माण भइरहेको हो । हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको साहहे बताए ।

ई. साहका अनुसार, अहिले निर्माण भइरहेको प्लान्टले दैनिक करिब २० मेट्रिकटन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमताको छ । वीरगन्ज महानगर क्षेत्रमा हाल दैनिक करिब ६०/६५ टन फोहोर संकलन हुँदै आएको छ । संकलित फोहोरमध्ये प्लास्टिकजन्य फोहोरलाई छुट्याएर उक्त प्लान्टमार्फत प्रशोधन गरिने व्यवस्था मिलाइने साहले बताए ।

गत असोजमा वीरगन्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रा.लि.बीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि यो परियोजनाको निर्माण कार्य अघि बढाइएको साहले बताए। उक्त सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको उनले बताए ।

महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुरूप प्रशोधन केन्द्रभित्र आधुनिक प्लान्ट निर्माण गरिरहेको मेयर राजेशमान सिंहले बताए । प्लान्ट सञ्चालनमा आएपछि वीरगन्ज महानगरभित्रबाट दैनिक संकलन हुने प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिने र त्यसलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीका रूपमा उत्पादन गरिने उनले जानकारी गराए ।

निर्माणाधिन उक्त प्लान्टको निर्माण कार्यको प्रगति बुझ्न बुुधबार महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोली निर्माण स्थलमा पुगेको थियो । टोलीले निर्माण कार्यको अवस्था, प्राविधिक पक्ष तथा आगामी सञ्चालन प्रक्रियाबारे स्थलगत जानकारी लिएको थियो ।

निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिने सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख महर्जनले बताए । त्यसपछि महानगरपालिकाले नै प्लान्ट सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ भने प्राविधिक जनशक्ति (टेक्निकल मेनपावर) को व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले गर्ने उनले जानकारी दिए। महर्जनले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त परियोजनामा लगानी गरेको बताए ।

म्यर सिंहले वीरगन्जलाई फोहोरमुक्त र हरित शहर बनाउने दीर्घकालीन लक्ष्यअनुसार प्लान्ट निर्माण गर्न लागिएको बताए । उनले भने,‘ यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ चरणको सुरुवात गर्नेछ ।’

मेयर सिंहले फोहोरलाई केवल व्यवस्थापन गर्नुपर्ने समस्याको रूपमा मात्र नभई स्रोतका रूपमा उपयोग गर्ने अवधारणातर्फ महानगर अघि बढिरहेको बताए। उनले भने,‘अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ,’।

 

Related posts

पर्साका किसानलाई खेतमै तालिम

MadhesKhabar

वीरगन्जमा दिपावलीका लागि आफ्नै घरमा झालरबत्ती लगाउने क्रममा करेन्ट लागेर १ युवककाे मृत्यु

MadhesKhabar

सखुवा प्रसौनी–२ मा एमाले उम्मेदवार रूपेश पाण्डेको घरदैलो, जनसमर्थन बढ्दो

MadhesKhabar

Leave a Comment